आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

|

काठमाडौं । आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । कोरोना महामारीका कारण यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ ।

कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।

दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन सरकारले आग्रह गरेको छ । असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् । दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

वि.सं.च २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो । कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरुमा विदा दिईएको छ ।

२०७८ असार १४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।