डाक्टर र नर्समाथि आक्रमण गर्ने धरौटी बुझाएर रिहा

|

नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जमा डाक्टर र नर्समाथि आक्रमण गर्ने  तीन जना जनही ५० हजार धरौटी बुझाएर आज रिहा भएका छन् । धरौटी बुझाएर उनिहरु आजै हिरासत मुक्त भएका छ्न ।

जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने तुलसीपुर उपमहानगरपालिका- ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिनु भयो ।

उनीहरु विरुद्ध ज्यान मार्ने उधोगमा मुद्दा  दर्ता भएको थियो । गत जेठ १३ गते राती ८ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ११ उरहरीका ५४ वर्षीय डिल्ली रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्समाथी आक्रमण गरेका थिए । उनिहरु मृतकका सहोदर भाइ र छोरा हुन ।

उनीहरू तीनै जनालाई सोही दिन राती पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो । उनिहरु २४ दिन प्रहरी हिरासतमा बसेका थिए ।

२०७८ असार ६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।