संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट

|

काठमाडौँ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा गरेका नियुक्त रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गर्नुभएको हो ।

उहाँले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्को सचिवालय र सभामुखलाई विपक्षी बनाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको थियो । उक्त अध्यादेश अनुसार वैशाख २६ गते संवैधानिक परिषदको बैठक बसेर लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो ।

उनीहरुको नियुक्तिका लागि मार्ग खोल्न संसदीय सुनुवाई समितिमा नाम दर्ता गरिएकोमा प्रतिनिधि सभा विघटनले स्वतः नियुक्ति हुने अवस्था बनेको छ । सुनुवाई समितिमा दर्ता भएको मितिले ४५ दिन पुगेपछि स्वतः नियुक्ति हुने प्रावधान छ ।

२०७८ जेष्ठ ३०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।