कोरोनामा लैंगिक सवाल संवेदनशील हुन्छ: जानुका न्यैपाने

|

 
 कोरोना भाइरसको महामारी सन् २०१९ देखि विश्वव्यापी रूपमा फैलियो । यसले स्वास्थ्यमा नकारात्मक असर सँगै मानिसको सामाजिक अर्थिक, लगायतका सम्पूर्ण गतिविधि तथा हाम्रो दैनिकीमा अनियिमत तथा उथलपुल पारिरहेको हामी सबैले अनुभव गरेका थियो,अझै त्यसको असर बाँकी छ ।
अब केहि सहज होला कि भनेर थोरै मात्र मुण्टो उठाउन नपाउँदै दोस्रो चरणको नयाँ भेरियण्ट सहितको कोरोना संक्रमणले हामी र हामी जस्तै लाखौ मानिसहरू घरभित्र बस्न बाध्य भएका छौ।

स्कुल, कलेज, संघ संस्था, कार्यालयहरू प्राय सबै बन्द नै छन् । प्रविधिको पहुँच र क्षमता अनुसार प्रयोग गरेर दैनिकी चलाउनेहरू पनि छन् सिमित संख्यामा छन् ।
तर, अधिकांशको भने नियमित आर्थिक , सामाजिक गतिविधि अवरूद्ध नै भएको छ । कोभिड १९ को दोस्रो चरणको असर सर्वत्र परेको छँदैछ त्यसमा महिलामाथि झन बढि परेको छ ।
संयुक्त राष्ट्र संघले केहि अगाडि सार्वजनिक गरेको तथ्यांक अनुसार १.५२ अर्व विद्यार्थी घरभित्र बस्न बाध्य भएका छन् । त्यसकारण पनि बालबालिकाको हेरचाह, घरायशी काम, आफन्त गुमाउनु परेर थपिएको पीडा र बोझ बिरामी स्याहार्नुका साथै स्वास्थ्य सेवामा सबैभन्दा बढी महिला खट्नु परिरहेको अवस्था छ ।

महिला नै स्वास्थ्य स्वयं सेविका, महिला नर्स, महिला डाक्टर, महिला कर्मचारी हुनुका साथै ज्येष्ठ नागरिक, बिरामीको हेरचाह गर्नुका साथै घरधन्दा, बाबालिकाको रेखदेखको सम्पूर्ण कार्यबोझ बढेको छ ।
अनि तैपनि महिलाको कामको उचित मूल्यांकन नहुँदा मानसिक असर समेत थपिएको छ । अनि कोभिडको समयमा सबभन्दा बढी असर भनेको मूल्यांकन नहुने अनौपचारिक काममा पुरूषको तुलनामा महिला बढी संलग्न हुनु र कम पारिश्रमीक पाउनु,पारिश्रमिक नै नपाउनु पनि अबको महत्वपूर्ण समस्या हो ।

त्यसमा पनि एकल महिला घरमूली, स–साना बच्चाको आमा शारीरिक रूपले असक्त तथा किशोरीहरु बढी भन्दा बढी समस्यामा परेका र पर्ने जेखिम दर उच्च रहेको छ ।
धेरै नेपाली महिलाहरू घरायशी काम, अनौपचारिक उत्पादनमूलक काममा रहेकाले अब निशेधाज्ञाका कारण बजार बन्द, कच्चा पदार्थको अभाव, स्वास्थ्य सुरक्षा सर्तकताका कारण आफुले आर्जन गरिरहेको अर्थ पनि बन्द हुने भएकाले आर्थिक समस्या पनि बढ्दो र बढ्ने अवस्थामा छ ।

त्यसकारण महिलाहरूमा मानसिक चिन्ता, आर्थिक अभावका कारण मनोवैज्ञानिक असर पर्ने पनि देखिन्छ,जसको कारण दीर्घकालीन मनेवैज्ञानिक असर नपर्ला भन्न सकिन्न ।

यो महामारीको समयमा पनि महिला नै बढी स्वास्थ्य सेवाका क्षेत्रमा संलग्न रहेको देखिन्छ तर उनीहरू त्यहाँ निर्णायक र नेतृत्व गर्ने अवस्थामा छन् कि छैनन् भन्ने मूल्यांकन भने हुनु जरूरी छ । त्यसै पनि असमानता झेलिरहेका महिला यस महामारीबाट अझ बढी हिंसा र शोषणबाट प्रताडित हुने जोखिम बढ्दो छ ।

नेपालमा कोरोना भाइरसको नियन्त्रणका लागि अवलम्वन गरेको निशेधाज्ञा, सन्देशमूलक सूचना प्रवाह, स्वास्थ्य परीक्षण, कोरोना संक्रमितलाई पोषण, एकान्तबास आदि धेरै सकारात्मक कार्यहरू शुरूवात भैरहेको छ ।
त्यसो हुँदाहुँदै पनि लैंगिक अवधारणायुक्त कार्यक्रम कम भएको पाइन्छ । यस्तो हुनुमा कोरोना नियन्त्रण तथा व्यवस्थापनको उच्चस्तरीय समितिमा एकजना पनि महिला सहभागिता नराख्नु हो ।

त्यसकारण लैंगिकतामा अधारित समस्या समाधानका लागि ठोस नीति नबन्नु हो त्यसले पनि महिलालाई ठूलो असर पर्ने देखिन्छ र स्वास्थ्य सेवाको अग्रपंक्तिमा रहेर समर्पित महिलाहरूको समस्या के रहेको छ ? अन्य महिलाको समस्या के छ ? भन्ने कुराबाट स्वास्थ्य सेवामा समर्पित संगै समग्र महिला अनभिज्ञ रहेको अनुभूति गरिएको छ।
यस्तो विकराल अवस्थामा महिला माथि पर्नसक्ने हिंसा र असमानताका अवस्थाहरूमा तत्कालीन महामारी व्यवस्थापनका नीति तथा योजना निर्माणमा महिलाको अनिवार्य अर्थपूर्ण सहभागिता आवश्यक छ जसले महिलाको समस्या बुझेको होस् ।

यस अवस्थामा केही ध्यान दिनुपर्ने कुराहरू :
महिला सहभागिता, कोरोना भाइरसको असर र त्यसबाट सुरक्षित रहन भेला नहुने, दुरी कायम गर्ने, माक्सको सही प्रयोग गर्ने, हात राम्ररी सावुन पानीले धोइरहने, नाक, मुखमा हात नलगाउने, अनावश्यक सूचनाहरू नसुन्ने, नहेर्ने, नराम्रा डर, त्रास, भय फैलाउने खालका सूचनाहरू सामाजिक सञ्जालमा नराख्ने, अकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखा परेमा तुरून्तै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, नआतिने, कसैलाई पनि गलत व्यवहार नगर्ने आदि लगायतका सूचनाहरू प्रभावकारी रूपमा प्रसारण अहिलेको सबैको मूख्य काम हो । साथै कोरोना भाइरसको कारणले महिलामाथि के कस्तो प्रभाव तथा असर पर्छ र त्यसले निम्त्याउने सामाजिक असर सम्बन्धी तथ्यको लागि समयमा लैंगिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरूरी छ ।

साथै यस महामारीबाट कुन वर्गका महिला अझ बढी जोखिममा पर्ने सम्भावना बढी छ भन्ने बुझ्न स्थानीय सरकारको समयमै ध्यान पुग्नु पहिलो प्राथमिकतामा पर्नु पर्छ।

महामारीको बेलामा समुदायका सबै पक्षको सहयोगको माध्यमद्वारा नियन्त्रण गर्न आकस्मिक गर्न सक्ने कार्य जस्तै: अत्यावश्यक परेमा राहत वितरण, तथ्यांक लिने, हटलाइनबाट मनोपरामर्श गर्ने, सूचना जारी गर्ने, सचेतनाका काम साथै मनोसामाजिक लगायत अन्य जटिल स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य संस्थाको उच्च केन्द्रमा प्रेषण कार्य सुरू गर्नुपर्छ ।
त्यसका पूर्वतयारीका लागि स्थानीय सरकार र नागरिक सबैको समयमा नै ध्यान पुग्नु आवश्यक छ ।महिलाहरू धेरै अनौपचारिक कार्यमा काम गर्ने हुनाले र हाल कार्यस्थलहरूले बिना पारिश्रमिक काम बन्द गर्ने हुनाले आर्थिक बोझ बढ्ने र बढेको पाइन्छ ।

त्यसका लागि आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार, नागरिक स्वयं तथा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूले यही समयमा मद्दत गर्नु पर्दछ ।
लामो समयसम्म घरमा बस्नु पर्ने बाध्यता भएका युवा, महिलाहरूलाई अहिलेको आवश्यकता परिपूर्ति गर्न सक्ने कार्यको उत्पादनमूलक भूमिकामा परिचालन गरेर आर्थिक आम्दानी गराउन तर्फ मान्छे बचाउन सँगै समयमै सोच्नु जरूरी छ ।

समुदायमा कोरोनाबाट बच्न सक्ने उपाय तथा निशेधाज्ञामा जारी गरेका नियमबारे सही सूचना निरन्तर सम्प्रेषण गर्न सकेन भने समुदायमा भयावह अवस्था सृजना हुनसक्ने जेखिम बढेको छ। त्यसैले सबैले बुझ्ने गरी श्रव्य,दृश्य वा स्थानीय भाषाबाट संस्कृति अनुसारको सूचना सम्प्रेषण गरी चेतना फैलाएमा प्रभावकारी हुनेथियो र त्यसतर्फ नागरिक पनि सचेत हुनु आवश्यक छ ।
स्थानीय तहमा यस्तो महामारीको अवस्थामा पनि मदिरा सेवनबाट स्वास्थ्यमा, समुदायमा र परिवारमा हुन सक्ने तथा भइरहेको हिंसालाई ध्यानमा राखेर सुरक्षा नीति बनाउन जरूरी छ ।

हिंसा भएमा तुरून्तै खबर गर्ने माध्यम, टोल-टोलमा समुदायका अगुवार्इ गर्ने नागरिकहरूको परिचालन, महिला प्रहरी परिचालन गर्नु आवश्यक पर्न सक्छ यतातर्फ पनि सोच्नु पर्छ ।

स्थानीय सरकारले राहत सामाग्री उपलब्ध गराउनु पर्ने अवस्था पनि सिर्जना हुनसक्छ। यदि राहत उपलब्ध गराउनु परेमा उक्त राहत सामग्रीमा खाद्य वस्तुको साथै महिलाको लागि चाहिने अपरिहार्य सामान जस्तै: स्यानिटरी प्याड, परिवार नियोजनका साधन, बच्चाका लागि खानेकुरा, गर्भवती महिलालाई चाहिने पौष्टिक आहारको साथै वृद्धवृद्धा तथा शारीरिक अपांगता भएका व्यक्तिहरूलाई मध्यनजर गरेर चाहिने आवश्यक सामग्री पनि समावेश गर्न पूर्व तयारी हुनु जरूरी देखिन्छ।

किनकी यस्ता अतिआवश्यक सामग्रीको अभावमा महिला तथा शारीरिक आपंगता भएका महिला अझ बढी पीडित हुने जेखिम रहेको र रहिरहन्छ ।
यस्तो अवस्थामा महिला/ पुरूष अति विपन्न मात्र नभनिकन ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरू किशोरीहरूलाई विशेष प्राथमिकतामा राख्नु आवश्यक हुन्छ ।

सबभन्दा ठूलो कुरा यस महामारीबाट दीर्घकालीन आर्थिक प्रभाव र त्यसको कारणले बढ्ने मानसिक चिन्ता, लैंगिक असमानतालाई मध्य नजर राखेर अहिलेकै अवस्थादेखि योजना बनाउनु जरूरी तथा बुद्धिमानी हुनेछ।

पछिसम्म आत्मनिर्भर हुनसक्ने कार्यक्रम, स्थानीय नागरिकको स्थानीय क्षेत्रमै परिचालन, पारम्परिक सीप, खाद्य सुरक्षा तथा सीपको संवर्द्धन तथा त्यसका लागि नीति, लैंगिक कार्य सम्पादन तथा बाँडफाँडबारे सचेतना, जोखिम नियन्त्रणको विधिको बारेमा सूचना निरन्तर सम्प्रेषण गर्ने । त्यसो गर्दा मुख्यतया महिलाहरूलाई स्वास्थ सेवा सम्बन्धी नेतृत्वदायी भूमिकामा अगाडि ल्याउनु पर्छ जसले भविष्यमा कुनै पनि महामारी आएमा सामना गर्न सक्ने नागरिक उत्पादन र सक्षम नागरिक समाजको निर्माण हुनेछ ।

समग्रतामा सबै पक्षलाई र विशेष रूपमा लैंगिक सवाललाई सम्बोधन गर्ने विशिष्टिकृत योजना बनाएमा यस्ता महामारी सहजै सामना गर्नसक्ने क्षमता, मानसिकता र व्यवहारमा बिकास हुने थियो । यो सवाल कुनै एउटा क्षेत्र, निकाय र समयमा मात्र समावेश नभई हरेक समयमा हरेक क्षेत्रमा सँगसँगै गाँसिएर आएको हुन्छ र सँगसँगै समाधान गर्न सबैको साझा दायित्व हो भन्ने आत्मसात गरेर अगाडि बढ्न नीति तथा योजना बनाउने अवस्थामा महिलाको सहभागिता हुनु पर्छ।

जसले लैंगिकतामा आधारित व्यवहारिक तथा विशेष अवश्यकताको पहिचान गरी योजना बनाउन सहयोग पुग्ने छ, यसलाई ध्यान दिनु वर्तमानको अपरिहार्यता हो भन्ने महशुस गरिएको छ ।
सबैले स्वस्थ व्यवहार अवलम्वन गरौ, आफु बाचौं र अरुलाई पनि बचाउँ भन्ने मूख्य मर्म हो ।

२०७८ जेष्ठ १, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।