एमाले र जसपाबीच भेटवार्ता सकारात्मक

|

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल सकारात्कम रूपमा अघि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार जनता समाजवादी पार्टीले राखेका मागका विषयमा सरकार गम्भीर रहेको र उसले उठाएका मुद्दामा सरकार सकारात्मक छ । माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहनुभएको छ । यहीँ सिलसिलामा पार्टीका प्रमुख ५ नेतासँग उहाँले बिहिबार साँझ छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँग छलफलका लागि जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई बालुवाटार पुग्नुभएको थियो । उहाँहरुले संविधान संशोधनलगायत आफ्ना पुराना मागमा सहमत हुने दलसँग मात्रै सहकार्य हुन सक्ने बताउँदै आउनुभएको छ ।

यता जनता समाजवादी पार्टी ९जसपा० ले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहिबार भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले बिहिबारको छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिनुभयो ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको नेता कर्णको भनाइ छ । कार्यदलस्तरमा थप छलफल गर्ने गरी आजको बैठक सकिएको हो ।

जसपासँग छलफलका लागि नेकपा ९एमाले०का तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरिएको छ । यस्तै जसपाका तर्फबाट नेताहरु सर्वेन्द्रनाथ शुक्ल र कर्ण सम्मिलित कार्यदल गठन भएको छ । सो कार्यदलमा केही नेताहरु थप गर्ने तयारी छ।

२०७७ फाल्गुन २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।