हरेक चुनौतीले अवसरको सिर्जना गर्दछ -डोल्मा लामा

|

प्रत्येक वर्ष मार्च ८ लाई महिला दिवसको रूपमा विश्वभर मनाउने गरिन्छ, यस वर्ष पनि leadership: Achieving an equal future in a COVID-19 world” नाराका साथ विश्वमा १११ औं महिला दिवस मनाइदैछ।

विश्व श्रमिक महिला दिवसले विश्वका महिलाहरूलाई जागरण र सशक्तीकरणको सन्देश दिन्छ भने सरकारहरूलाई सकारात्मक परिवर्तनका लागि पहलकदमी गर्ने दायित्वको स्मरण गराउँछ।

सन् १८५७ मा संयुक्त राष्ट्र संघका अनुसार न्यु योर्क शहरका कपडा मजदुरहरू जुलुसमा उत्रिए, श्रमिकहरु विचको एकता र सहकार्यबाट समानताको निम्ति माग गर्दै गार्मेन्ट महिला मजदुरहरूले कम तलबको विरोधमा हडताल गरे,ति महिला मजदुरले लिएको त्यो पहलकदमी त्यतिवेला निकै नै महत्वपूर्ण थियो ।

त्यसको सम्झनामा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनले क्लारा जेट्किनलगायतका महिलाको प्रस्तावमा सोही दिनलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गर्‍यो । त्यसैवेलादेखि ८ मार्च मनाउन शुरु भयो ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्‍यो र त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले ।

बिश्वब्यापी रुपमा हेर्ने हो भने युरोप र अमेरिकाका देशमा जति अधिकार पाएका छन्, अहिले पनि त्यति अधिकार एसिया र अफ्रिकाका कतिपय देशका महिलाले लिन सकेका छैनन्।अन्तर्राष्ट्रिय रूपमा महिलाका हकअधिकार र तिनको कार्यान्वयको लेखाजोखा हुन बाँकी नै छ।

नारी आँट, साहस, शक्ति र मायाको खानी हो, जसलाई कसैले नकार्दैन। हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूले पनि त्यसको महिमा ऐतिहासिक कालदेखि गर्दै आएका छन्। ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने पौराणिक भनाइ रहेको छ यो भनाइलाई सार्थक बनाउन जरुरी छ।

हाम्रो मुलुकको इतिहास लाई फर्केर हेर्दापनि राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा महिलाहरुको सक्रिय सहभागिता बढ्दै गएको छ, जुन सकारात्मक पाटो हो।

महिलाहरुको सक्रिय राजनीतिक सहभागिताले पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका छन् ।
विश्व परिप्रेक्ष्यमा कुरा गर्दा अन्तर्राष्ट्रीय नारि दिवसमा भने संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँदछन् ।

तर हाम्रो नेपाली समाजमा भने महिलाहरु बिच एक आपसमा सकारात्मक सोच, सम्मान, माया र स्नेहको भावना भन्दा बढि ईर्ष्या गर्ने ,असहयोग गर्ने तथा खुट्टा तान्ने प्रवृत्ति भने रहिआएको छ।

महिलाहरुको विचमा एकआपसमा फराकिलो मानसिक सोचको साथ एकजुट हुन ज़रूरी देखिन्छ,८ मार्चलाई पर्व तथा उत्सवको रूपमा लिने भन्दा पनि अधिकार प्राप्तिको ऐतिहासिक क्षणको रूपमा लिनु सान्दर्भिक हुने छ।

देश विदेश जहाँ भएतापनि नेपाली समाज भित्र अझै लैंगिक समानता कायम गर्न, लैंगिक हिंसा अन्त्य गर्न थुप्रै बाँकी छ, प्रवासी मुलुकमा हेर्ने हो भने पनि धेरै नेपाली दिदिबहिनिहरु सामाजिक हिंसा र मानसिक हिंसाको शिकार भईरहेको छ,जसको मार प्रत्यक्ष रुपमा महिलाहरूले खेपिरहेका छन्।

महिलाको अधिकार कहिल्यै पनि पुर्ण हुदैन र आन्दोलन कहिल्यै अन्त्य हुदैन त्यसैले सम्पूर्ण महिलाहरु एकताको साथ सामूहिक प्रयासको साथ अगाडी बढ्नु आवश्यक छ ।

न्याय र समानता को निम्ति आवाज बुलन्द गरौ,साथै आजको २१ औ शताब्दीमा बिभिन्न भेला तथा कार्यक्रमहरु मात्र हैन अन्तर्राष्ट्रीय डायस्पोरामा वास्तविक जीवनमा ठाउँ ठाउँमा घटीरहेका महिला हिंसाका घटना तथा प्रेरणा मिल्ने सफल महिलाहरुको कथाबस्तु हरुलाई उजागर गर्दै सामाजिक संजालको माध्यम बाट प्रभावकारी ढंगले सामाजिक सचेतना बढाउने कोशिश गरौ,हरेक चुनौतीले अवसरको सिर्जना गर्दछ, अवसरलाई सहज र सरल ढंगले प्रयोग गर्न सकेमा सफलता हासिल गर्न सकिन्छ र कोभिड बर्ष -२०२० बाँट पनि हामीले चुनौतीहरु संग लड्न सक्ने क्षमताको विकास गरिसकेका छौ ।

बिभिन्न क्षेत्रमा महिलाले गरेका ऐतिहासिक योगदानको क़दर गर्ने गरौ , सधै महिला हिंसा, पिडा र समस्याको मात्र कुरा हैन समाधानको बाटोहरु खोजौ साथै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं,सकारात्मक ढंगले महिला र पुरुषलाई फरक रूपमा हेर्ने विभेदपूर्ण सामाजिक नजरिया बदल्न सक्यौं भने मात्र यस बर्षको “Women in leadership: Achieving an equal future in a COVID-19 world” नाराले सार्थकता पाउनेछ ।

र अन्त्यमा महिला शसक्तिकरणको लागि सदैव तत्पर रहेको प्रतिबध्दता सहित महिला एकता तथा समानतालाई सहकार्यमा रुपान्तरण गरौ र १११औ अन्तराष्ट्रीय महिला दिवस को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण महिला दिदिबहिनिहरुलाई हार्दिक शुभकामना ..!!

डोल्मा लामा -रासस समाचारदाता, क्यालिफोर्निया

२०७७ फाल्गुन २३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।