लैंगिक समानताका लागि किशोरीको सशक्त माध्यम बन्दै फेसबुक ग्रुप ‘गल्र्स आउट लाउड’

|

नेपालगञ्ज । बाँके र सिन्धुलीका ५० जना किशोरीहरुलाई जोडेर सिर्जना बज्राचार्यले फेसबुकमा गल्र्स आउट लाउड नामक फेसबुक ग्रुप खोलेर अभियानको सुरुवात गर्नुभयो । क्याम्पेन स्पेससिष्ट बज्राचार्यले शुरु गरेको यो अभियानमा अहिले देशभरका ७ सय ५० जना किशोरी जोेडिएका छन् । लैंगिक समानताका लागि किशोरीहरुलाई सशक्त बनाउँदै फेसबुकलाई पावरका रुपमा अंगिकार गर्न गल्र्स आउट लाउड अभियान थालिएको बज्राचार्य बताउनुहुन्छ ।

किशोरीहरुलाई इन्टरनेटमा जोड्दै अनलाइन प्लेटफर्ममा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने उद्देश्यले यो ग्रुप बनाएका हौं, अहिले विश्वभरका १८ मुलुकमा यो अभियान चलिरहेको छ, उहाँले भन्नुभयो किशोरीका इस्यु, समाजमा विद्यमान कुप्रथा, प्रजनन स्वास्थ्य लगायतका विषयमा पोष्ट गर्ने, शेर गर्ने, अन्तरक्रिया गर्ने, धारणा राख्ने, समस्या समाधानका उपाय पहिल्याउने, सोसल मिडियामा कसरी सुरक्षित हुने जस्ता कुरामा किशोरीहरुले मन्थन गर्छन् ।

गल्र्स आउट लाउड अभियानलाई अझ सशक्त बनाउन प्लान इन्टरनेशनल नेपालले बाँके र बर्दियाका ४० जना किशोरीहरुलाई अभिमुखीकरण गरेको छ । नेपालगञ्जमा दुई छुट्टाछुट्टै समूह बनाएर चार दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले प्लान इन्टरनेशलन नेपालले राम्रो सुरुवात गरेको भन्दै सोसल मिडियाको सही सदुपयोग गर्न सके त्यसले सकारात्मक परिणाम दिने बताउनुभयो । थापा मगरले गल्र्स आउट लाउडु किशोरीहरुले जान्नैपर्ने, बुझ्नैपर्ने थलोका रुपमा विकास हुनु अत्यन्त राम्रो भएको बताउनुभयो । बोल्न नडराउनुहोला, आफूलाई मात्र होइन साथीहरुलाई अप्ठेरो पर्दा पनि बोल्दिनुस्, सशक्तीकरणका लागि सबैले हातेमालो गर्नुपर्दछ, उपमेयर थापा मगरले भन्नुभयो । उहाँले नेपालगञ्जलाई सुरक्षित सहरका रुपमा विकास गर्न लागिपरेको बताउँदै सहरका गल्ली गल्लीमा बत्ती लगाइएको जानकारी दिनुभयो ।

प्लान इन्टरनेशनल नेपालकी सिनियर टेक्निकल एड्भाइजर रक्षा पौडेलले प्लानले विगत ४० बर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको जानकारी दिँदै इन्टरनेट र मोबाइलमा पहुच बढाएर किशोरीहरुलाई सशक्त बनाउन यो अभियान थालिएको बताउनुभयो । पौडेलले प्रविधिमा किशोरीहरुको पहुँच नहुंँदा र उनीहरुलाई सबल नबनाउँदासम्म लैंगिक समानता हुन नसक्ने बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालको बालविवाह रोकथाम परियोजना प्रमुख आशा बुढा मगरले सामाजिक सञ्जालमा किशोरीहरुलाई जोड्दै एकअर्कामा अन्तरक्रियात्मक बनाउन यो अभियान सफल बन्दै गएको बताउनुभयो । यो ग्रुपमा सक्रियरुपमा सहभागी भई अन्तरक्रियात्मक हुने, विचार आदानप्रदान गर्ने, धारणा बनाउने लगायतका क्रियाकलाप गर्ने किशोरीहरु मध्ये एक जनालाई हरेक महिनामा लाउडेष्ट गर्ल अफ द मन्थु घोषणा गर्ने गरिएको बताउनुभयो । यसमा अहिलसम्म बाँकेकै चार जना किशोरी लाउडेष्ट गर्ल अफ द मन्थ घोषित भएर मोबाइल उपहार पाएको जानकारी दिनुभयो ।

यो अभियान बालविवाह रोकथाम परियोजना अन्तर्गत् हो । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर लैंगिक समानता र महिला सशक्तीकरणका लागि किशोरीहरुलाई संगठित बनाउन अभिमुखीकरण गरिएको हो । किशोरी चन्द्रकला थारुको सभापतित्वमा भएको समापन कार्यक्रममा बैजनाथकी दिपा दर्लामी र कोहलपुरकी विपना बुढाले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

२०७७ फाल्गुन १७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।