अर्गानिक कृषि दिवस : अर्गानिक उत्पादनमा जोड दिन आवश्यक

|

हुम्ला । कर्णाली प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास कार्यालय हुम्लाले विभिन्न कार्यक्रमको आयोजना गरी अर्गानिक कृषि दिवस मनाएको छ । बिहीबार हुम्ला सिमकोटमा अर्गानिक कृषि दिवसको अवसरमा प्रभात फेरी कार्यक्रमका साथै अर्गानिक कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरेको कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखत बहादुर खड्काले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को प्रथम बैठक मिति २०७४ फाल्गुन ६ गतेको ले ‘अर्गानिक कृषिको आधार खडा गरी रैथाने बाली वस्तुको संरक्षण गर्ने’ निर्णय गरेको थियो । यसै अवसरमा कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष यसै दिनलाई अर्गानिक कृषि दिवसको रूपमा मनाउँदै आएको छ । अर्गानिक कृषि र रैथाने बालीको संरक्षण तथा प्रवद्र्धन भन्ने मूल नाराका साथ कर्णालीले यस वर्षको अर्गानिक कृषि दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गिरीले हाल बजारमा पाउने कृषि उपजहरूमा विषादीको उल्लेख्य प्रयोग बढेको बताउँदै तत्कालीन र दीर्घकालीन असरहरूबाट बच्न सबैले अर्गानिक कृषि उत्पादनमा जोड दिनु पर्ने बताए ।

यस्तै कार्यक्रममा अर्गानिक खेतीका लागि उपयुक्त ज्ञान दिने भिडियो तथा डकुमेन्ट्री बनाएर सामाजिक संजालमा राख्नु पर्ने तथा वर्तमान प्रविधिको प्रयोग गरी अर्गानिक कृषिको सचेतना प्रदान गर्न आवश्यक रहेको हुम्लाका प्रहरी प्रमुख डिएसपी सूर्यप्रकाश सुबेदीले बताए ।

यता कार्यक्रमका अतिथि उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्षले अर्गानिक कृषि उत्पादनका लागि हुम्लाका ७ वटै पालिकामा प्रचार प्रसार गरी उत्पादनमा वृद्धि गर्दै जिल्लामा उत्पादन भएको कृषि उपजलाई नेपाल खाद्य कम्पनी लिमिटेडले उचित मूल्यमा खरिद गर्ने वातावरण तयार गर्न आवश्यक रहेको बताए ।

 

२०७७ फाल्गुन ६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।