नेपालगन्ज / नेपालगन्जमा आज आइतबार चिया महोत्सव सम्पन्न भएको छ । भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले भ्यालेन्टाइनको दिनमा चिया महोत्सवको आयोजना गरेको हो । फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले संचालन गरेका थिए । सो चिया महोत्सवको मुख्य प्रायोजकको रुपमा उपकार चिया रहेको थियो ।
टि फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, ह्वाइट टीलगायत विभिन्न २० प्रकारका चिया फेस्टिभलमा राखिएको आयोजकले बताएको छ । करिब ३५० बढी चिया पारखीको सहभागिता रहेको थियो । चिया महोत्सवमा सहभागी गगन थापाले नयाँ स्वाद पाएको बताए । त्यसै गरि शैलेन्द्र जिएनले एकै ठाउँमा धेरै प्रकारको चियाका स्वाद लिन पाएको बताए । अर्का सहभागी नेपालगन्जका सामाजिक अभियान्ता विश्वजित तिवारीले नेपालगन्ज चियाका पारखी भएकाले यस्ता कार्यक्रम चोक चोकमा आयोजना गर्नु पर्ने बताए ।
भिन्टेज कलेजका प्रिन्सिपल गजेन्द्र मल्लका अनुसार चियाका बारेमा हामीलाई धेरै कुरा थाहा नभएकोले यो फेस्टिभलको आयोजना महत्वपूर्ण भएको बताएका छन् । साथै मल्लले आगमी दिनहरुमा पनि पर्यटन प्रचारको लागि यस्ता कार्यक्रमहरुको आयोजना गरिने बताए । यस अघि पनि कलेजले खाना महोत्ससको आयोजना गरेको थियो
नेपालगन्जमा हाल पाँच/६ प्रकारका चियामात्र पाउने प्रिन्सिपल मल्लले बताए । उनले फेस्टिभलमा राखिने सबै चियाको मूल्य ३० रुपैयाँ तोकिने जानकारी दिए । आयोजकले फेस्टिभलमा बिक्री हुने हरेक कप चियाबाट १० रुपैयाँ द्वन्द्वपीडितका लागि छुट्याइने जनाएको छ ।






