कोभिड-१९ विरुद्धको खोप नेपालमा १ लाख ८४ हजार बढीले लगाए

|

काठमाडौं । कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप अभियानमा देशभर १ लाख ८४ हजार बढीले खोप लगाएका छन् । ७७ जिल्लाका विभिन्न खोप केन्द्रहरुबाट १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा २४ हजार २२४, प्रदेश नम्बर २ मा २५ हजार ६३७, वाग्मतीमा ६३ हजार ३०८ जनाले खोप लगाएका छन् । त्यस्तै गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । भारत सरकारले अनुदानमा कोभिशिल्ड खोप उपलब्ध गराएपछि यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो । सरकारले भारतले दिएको १० लाख डोज खोप पहिलो चरणमा ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाएको थियो । तर, योजना बनाए अनुसार स्वास्थ्यकर्मीले खोप नलाएपछि पहिलो चरणको खोप बचेको छ ।

खोप अभियान अन्तर्गत सरकारले दोस्रो चरणको खोप दिने वर्गमा पत्रकार, कूटनीतिक नियोगका अधिकारीहरुलाई समेट्ने भएको छ । पहिलो चरणको खोप अभियान सकिएपछि मन्त्रालयले दोस्रो चरणको कार्यक्रम सुरु गर्ने योजना बनाएको हो ।

२०७७ माघ २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।