नेपाल युवा परिषदको अध्यक्षमा सरोज बानिया चयन

|

काठमाण्डौं / नेपाल युवा परिषदमा नयाँ कार्य समिति चयन भएको छ । नेपाल युवा परिषदको नवौं बार्षिक साधारण सभाले सरोज बानियाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । नयाँ कार्य समितिमा अध्यक्षमा सरोज बानिया,उपाध्यक्षमा सुदर्शन बिडारी, महासचिवमा रचना खरेल सचिवमा बिनय हुमागाई,कोषाध्यक्षमा श्रीकृष्ण बुढाथोकी, कार्यक्रम संयोजकमा किशोर न्यौपाने र सदस्यहरुमा श्रीयान्स रौनियार,आरती लामा, रश्मी इटानी, सरोज कुमार महतो र श्रीशा पौडेल निर्वाचित हुनुभएको छ । सो कार्यक्रममा उद्योग,वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला वि.कको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा पर्यटन व्यवसायी सुमन पाण्डे र कृष्ण अर्याल, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, सुवर्णा वस्नेत र अनुसन्धानकर्ता लालमणि वाग्लेले देशको निर्माणमा युवाहरुको भूमिका र नेपाल युवा परिषदले गर्नुपर्ने कामका बारेमा आ आफना मन्तव्य राख्नुभएको थियो ।

२०६९ सालमा स्थापना भएको नेपाल युवा परिषद् नेपालका सात वटै प्रदेश र ६० भन्दाबढी जिल्लामा आफनो कार्य विस्तार गरिसकेको छ । यसमा ३ हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन् । उद्यमी युवा समृद्ध देशको मुलमन्त्र लिएको नेपाल युवा परिषदले आफ्ना प्रदेश र जिल्ला समितिहरुमार्फत युवाहरुलाई स्वरोजगार र उद्यममा प्रेरित गर्न विभिन्न तालिम र सहयोग गर्दै आएको छ । यसले प्रदेश र राष्ट्रिय स्तरमा युवा सम्मेलनको आयोजना गरी नेपाली युवाहरुको आवश्यकता, चाहना र त्यसको परिपूर्तिका उपायका सम्बन्धमा सार्थक छलफल आयोजना गर्दै आएको छ । सन २०१९ मा परिषदले एशियाली युवा सम्मेलनको पनि सफलतापूर्वक आयोजना गरेको थियो ।

नेपाल युवा परिषदका नवनिर्वाचित अध्यक्ष बानियाले बेरोजगार युवाहरुलाई नेपालमा नै रोजगारको वातावराण सृजना गर्ने र युवाहरुको क्षमतालाई देशको निर्माणमा लगाउनु पर्नेमा जोड दिनुभयो । साथै नेपाल युवा परिषदलाई देशका ७७ जिल्लामा विस्तार गरेर समृद्ध नेपाल बनाउने अभियानलाई सफल बनाउन हरपल अग्रसर रहने पनि बताउनुभयो ।

२०७७ माघ ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।