प्रिय कवि,
आज तिमि प्रेमको मात्र होइन
बिश्वाश र विजयको कविता लेख
आशा र उल्लासको हरफ कोर
किनकि आज बिशेष दिन हो!
कलाकार,
तिमि किन सधै अमुर्तमा रमाउछौ?
पोख आज तिम्रा असिमित रंगहरु
र, उल्लाशको मूर्त क्यानभास भर!
साहित्यकार,
धेरै सोच्न छाडिदेउ
सिर्जना मर्छ।
आजको निम्ति निर्धक्क बिना सोच
साहशको कथा लेख,
शोक र निराशामा होइन
पाठक काे निम्ति उत्सबको लिपि कोर!
डाक्टर,
मौन भएर बिरामीको छातीमा
तिमीले स्टेथेस्कोप डुलाउने होइन
बिजयको खबरले उनीहरूको मुहारमा
मुस्कान भर!
वकिल,
भोलिका झगडियाका फाइल
आजलाई उता थन्क्याउ
र सुनाउ तिम्रा आफ्नै बालबालिकालाई
अब धेरै झगडा हेर्नुपर्ने छैन भनेर!
पत्रकार,
खाइ नखाई कति खबर लेख्छौ
उही दुर्घटना र मृत्युका,
अभाव र विसंगतिका?
बरु लेखिदेउ
आजबाट सुन्दर समयको सुरुवात भयो भनेर!
शिक्षक,
तिमि आज कक्षामा
उही इतिहासको दुर्दिन नपढाउ
बरु भविष्यको उत्साह भर
अनि सुदिनको पाठ पढाउ!
हे किसान,
तिमि दैनिक माटोमा घोटिनाले
मेरा बालबालिकाले पेट भर्न पाएका छन्
तर भैगो आज थकाई मार र
पूर्व तिर हेर कति राम्रो सुर्योदय हुँदै छ!
बबुरो फोटोग्राफर,
भो पुग्यो तिम्रो
अभाव, रोग र भोकका छाति चिर्ने तस्विरहरु।
बरु आज बडो मुस्किलले
मानिसहरुको चेहरामा आएको मुस्कालाई
तिम्रो फ्रेम मा कैद गर!
आमा-बाबा आज एउटा प्रण गर,
मानिस मार्ने हिटलर र घृणा फैलाउने ट्रंप होइन
सबैलाई समेट्ने
जो र कमला जन्माउने प्रण गर !
प्रिय कवि,
आज तिमि प्रेमको मात्र होइन
बिश्वाश र विजयको कविता लेख
आशा र उल्लासको हरफ कोर।
किनकि आज बिशेष दिन हो!