
मृत्युलाई नजिकबाट पटक–पटक अनुभव गर्दै कोरोना रूपी बलवान शत्रुसँग पौंठेजोरी खेलेर जितेपछि मैले महसूस गरेका तीता अनुभव पाठकका लागि पनि उपयोगी होला भनेर शेयर गर्दैछु । यस्तो अनुभव अरू कसैले गर्नु नपरोस्, कोरोना कसैलाई पनि नलागोस्, मेरो कामना र प्रार्थना छ ।
असोज २७ गते बिहान ३:३० बजे हतारहतार उठेर ४ बजे कञ्चनपुर मेरो जन्मथलो जान हामी दुई, छोरा र मेरो गुरु भाइ (चालक) गरी ४ जना बिहान सबेरै निस्कियौँ । खुशी हुँदै आज बेलुका घर पुगिन्छ, भोलि सबैजना जम्मा भएर २८ गते ठूलो छोराको जन्मदिन मनाउने भनेर खुशी हुँदै कञ्चनपुरको यात्रामा लागियो, तर मन जति खुशी थियो, ज्यान त्यति स्वस्थ र बलियो थिएन ।
जिउ दुखेर आँखाबाट तपतप आँसु खसिराथ्यो । मलाई लाग्यो, काठमाडौंमा हुँदा कामको धपेडीले गर्दा यस्तो भएको होला । हुन पनि अघिल्लो दिनसम्म मलाई केही पनि भएको थिएन । छोराले के भयो भनेर सोध्दा ‘हैन, ठीक छ बेटा’ भनेर ढाडस दिँदै यात्रा गरिरह्यौं ।
त्यो दिनको यात्रा मेरा लागि निकै कष्टकर बन्दै गयो । दिन बित्दै गयो, यात्रा झन् कठीन हुँदै गयो बाटोमा चार/पाँचपटक त गाडी रोकेर लम्पसार परेर सुत्न पाए हुन्थ्यो झैँ लागेको थियो, तर यात्रा टाढाको थियो र हामी निरन्तर अगाडि बढि रह्यौं । करीव ४ बजेको थियो होला, छोरीले कैलालीको लम्कीमा नास्ता पुर्याएर गइन् ।
घोडाघोडी ताल छेउको जंगलमा गाडी रोकेर नास्ता खान झरेको हनहनी ज्वरो बढ्यो । ढाड र जिउ दुखेर सास फेर्न पनि गाह्रो भइरहेको महसूस भयो । जेनतेन हामी बासस्थान पुग्ने सुरमा हिँडिहाल्यौं ।
करीब ७ बजेको थियो, बुवालाई भेट्न गएको एक कप चिया खाएर खोक्दै बस्दा पनि नबसी घर पुग्यौं । घरमा सानो बच्चा थियो, मनमा डर लागिरहेको थियो कि कोरोना भइहाल्यो भने ! त्यसैले बच्चाको नजिक गइनँ । राति नै मान्छेहरू भेट्न आउन थाल्नुभयो, आफूलाई एकोहोरो खोकी, ज्वरो र जिउ दुखाइले खपिनसक्नु भएको थियो । तर पनि आएका मान्छेलाई भेटेर पठाएँ ।
राति सुत्न गएँ, त्यो बेला ज्वरो १०१ दशमलव ९ आइसकेको थियो । खोकी एकोहोरो लागिरहेको थियो । राति निम्स र दुखाई कम गर्न अरू औषधिको सहारा लिएर पल्टें, सुत्न सकिनँ । भोलिपल्ट बिहानैदेखि मान्छे आवतजावत हुन लाग्यो । फोन ननस्टप आउन थाले, तर मैले रेस्पोन्स गर्नै सकिनँ ।
बिहान ८ बजेतिर डा. दीपेन्द्र बुडाललाई फोन गरें र समस्या बताएँ । उहाँले एकपटक पीसीआर चेक गर्ने सल्लाह दिनुभयो । मेयरलाई पीसीआर लिन मान्छे पठाइदिनुस् भनें । यसोउसो गर्दा ढिलो हुनेजस्तो लागेपछि ११ बजेतिर सेती अस्पतालका अध्यक्ष एवं मेरो अनन्य मित्रलाई मेरो समस्या बताएँ । आजै चेक गरेर बेलुकासम्ममा रिपोर्ट दिने व्यवस्था मिलाइदिनुस् भनें ।
उहाँले १ घन्टाभित्र ल्याब सेन्टरमा पुग्नु भन्नुभयो र सोहीअनुसार म गएँ । स्वाब दिएर घर फर्कें । दिनभरि छटपटी भयो । श्वास फुलिरहेको थियो । खोकी बेस्सरी लागेको थियो । त्यसैमाथि रातिदेखि नै पखाला लागिरह्यो म छटपटिएको देखेर छोरी र घरपरिवारका सदस्यहरू आत्तिन थाले । घरी बेसार र गुर्जो पानी बनाएर दिन्छन्, घरी बाफ लिनुस् भनेर दिन्छन्, तर मलाई यति धेरै गारो भयो कि अहिले म शब्दमा बयान गर्नै सक्दिनँ ।
त्यत्तिकैमा साँझ पर्यो । त्यही दिन ठूलो छोरा लोकेशको जन्मदिन थियो । बेलुका जन्मदिन मनाउन आफ्ना साथीहरूलाई बोलाएको थियो । बाबु केक लिएर घर पुग्दा मेरो रिपोर्ट पोजेटिभ आयो भनेर खबर आयो । त्यतिखेर लाग्यो कि मेरो पैँतालामुनिको जमिन नै भासियो ।
मैले सुनेको थिएँ, निमोनिया भएको मान्छेलाई कोरोना भयो भने बचाउन गाह्रो हुन्छ । त्यसैले मलाई ठूलो चोट पर्यो, र लाग्यो अब म बाँच्दिन, तर पनि बडा मुस्किलले हिम्मत जुटाएर घरपरिवारलाई आफूलाई कोरोना भएको खबर सुनाएँ । दुईचार शब्द जुटाएर सामाजिक सञ्जालमा पोस्ट गरें । मेरो सम्पर्कमा आउनुभएका सबै सचेत हुनुस् भनेर पोष्ट गर्नेबित्तिकै शुभचिन्तकहरूको फोन, एसएमएसमा सान्त्वना र ढाडसका सन्देशहरू आउन थाले । यसले हिम्मत बढायो, तर शरीरले धानिरहेको थिएन ।
कोरोनासँग लडेर मैले त अर्को जुनी पाएँ, मेरा शुभचिन्तकहरूलाई कोटीकोटी नमन छ । आफ्नो स्वास्थ्यप्रति सजग भएर हिँडौं, एकपटक पाएको जुनीलाई सही सदुपयोग गरौं र कोरोना केही पनि होइन, सामान्य हो भन्ने कुरा सोच्दै नसोचौं । त्यसमा अझ मजस्ता निमोनिया र फोक्सोका बिरामीलाई कोरोना भयो भने बचाउन निकै मुस्किल हुँदोरहेछ । यो समयमा मैले दैनिक धेरैपटक डा. रवीन्द्र पाण्डेलाई आफ्नो अवस्था बताउँथें । उहाँले सधै सकारात्मक सोच र आत्मबल बढाउने खालको सल्लाह दिइरहनुभयो । मेरो अनुभवमा कोरोनाको बिरामीलाई जति सक्यो त्यति धेरै माया सद्भाव नै ठूलो औषधि रहेछ ।
शायद मेरा लाखौं शुभचिन्तकहरूको माया, सद्भाव, प्रार्थना र आईसीयू, भेन्टिलेटर तथा रेमडिसिभिर नपाएको भए शायद मलाई पनि बचाउन सक्नुहुन्थ्यो वा हुँदैनथ्यो । आज १९ दिन भयो अहिले पनि उठ्न जिउ काँप्छ । लेख्न खोज्यो हात काँप्छ । सास फुल्छ, शरीर शिथिल र गलेको छ । मनले त अब काममा निस्किनुपर्छ भन्ने लाग्छ, तर ज्यानले थेगिराको छैन । धेरै गलाउँदो रहेछ, थला नै पार्दाेरहेछ, सायद म निमोनियाको रोगी भएर पनि होला ।
जे होस् जति दुःख भएपनि बाँचियो त्यसैले कोरोनारूपी राक्षसलाई कसैले पनि सामान्य न ठान्नुहोला । आफ्नो स्वास्थप्रति सजग हुनुहोला । सामाजिक दूरी कायम गर्दै सरकारले भनेका नियमहरू पालना गरौं । सावधानी अपनाउँदा आपनाउँदै पनि कोरोना लागिहाल्यो भने नआत्तिएर मन बलियो बनाएर डाक्टरको सल्लाहअनुसार उपचार गरौं । म जस्ता निमोनियाका दीर्घरोगीले त कोरोना जिते भने अरूले पनि सहजै जित्नुहुनेछ । तर हौसला चाहिँ राख्नुपर्दोरहेछ भन्ने मेरो अनुभव रह्यो ।
अन्त्यमा मैले जति धन्यवादका शब्दहरू दिए पनि कम हुनेछ, सायद सम्माननीय प्रधानमन्त्रीज्यू नभएको भए म बाँच्दिनँ थिएँ होला । मेरो जन्मदाताले त जन्म दिनुभयो तर मेरो कर्मदाताले मलाई पटक–पटक जीवनदान दिनुभएको छ, मलाई बचाउनुभएको छ । म मेरो जीवनभर ‘केपी बा’प्रति ऋणी रहनेछु ।
मैले जीवनभर उहाँको यो ऋण तिर्न सक्ने छैन । आदरणीय नेता कमरेड माधव नेपाल, सिंगो पार्टी पंक्ति, नेपाल सरकार, संघीय संसद सचिवालय, मेरो समिति परिवार, स्वास्थ मन्त्री भानुभक्त ढकाल दाइ, भूमि मन्त्री पद्मा अर्याल दिदी, बिन्दा पाण्डे दिदी, कर्ण थापा दाइ, त्यसैगरी मेरो हरेक सुख-दुःखको साथी भगवती, मेरो दाइ, हस्पिटलको केसी भाइ, डाक्टरहरू सन्त दास, निरज बम, शुभेन्दुराज कायस्थ, डाक्टर रविन्द्र पाण्डे, डा. हरि श्रेष्ठ, डा. बुडाल, डा. शक्ति बस्नेत भाइ, डा. विकास भाइ र नर्स बहिनीहरू, सरसफाइकर्मी मित्रहरू र मैले लिनैपर्ने लाखौं नामहरू मेरो आफन्त, घरपरिवार, इष्टमित्र, शुभचिन्तक, शुभेच्छुकहरूप्रति हार्दिक आभार र नमन गर्न चाहन्छु ।
निरुदेवी पाल नेकपा नेतृ पाल प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सभापति हुन् ।