
-कृष्मा थोकर
जुन घरमा महिलाहरूले समान अवसर पाएका छन् त्यो परिवारको समाजमा कदर पनि भएकै छ। जुन परिवारमा महिलाहरू स्वावलम्बी छन्, त्यो परिवार शिक्षित र हरेक कोणबाट सक्षम देखिन्छ।
म एक शिक्षिका भएको हैसियतले मैले मेरो भावनाहरु यस लेख मार्फत प्रस्तुत गर्न खोजेकी हुँ ।
साथै मुलुक समृद्ध बनाउने ढंगले अवको शिक्षा नीति ल्याउने हो भने महिला तथा बालिकाहरुको शिक्षालाई जोड़ दिनुपर्ने देखिन्छ ।
कोरोना माहामारीले मान्छेदेखि मान्छे डराउने परिस्थिति छ। त्यसैले सामाजिक एवं आर्थिक गतिविधि निकै प्रभावित छन्। महामारीले महिलाहरूको आय स्रोतमा ठूलो असर समेत पुर्याएको छ।
विश्व अहिले कोभिड महामारीसँग जुझिरहेको छ। यस किसिमको आपत आउँछ भन्ने हिजोको दिनमा कसैले पनि सोचेकै थिएन। यसै पनि गरीब राष्ट्र नेपाल त्यसैमा पनि आर्थिक, सामाजिक, धार्मिक, सास्कृतिक र राजनैतिक सबै हिसाबले महिलाहरू दोस्रो दर्जाको नागरिकको हिसाबले बाँच्न बाध्य छन्।
राज्यले महिलाहरूलाई जनसंख्याको प्रतिशतअनुसार आरक्षणको व्यवस्था गर्नुपर्दछ। शिक्षा र रोजगारीबाट वञ्चित महिलाहरूले शिक्षा, सीप र रोजगारी पाए भने सामाजिक भेदभाव, सामाजिक कुरीति एवं सामाजिक हिंसा पनि अत्यन्तै कम हुन्छ र अनिमात्र जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् भन्ने भनाईले सार्थकता पाउनेछ ।
स्थानिय गाँउ घरमा हेर्ने हो भने अहिलेको अबस्था अत्यन्तै दयनिय छ , कोरोनाको कहरको विचमा आएको चाडपर्व बडा दशै लाई दशाको रुपमा खडा भएको महसुस गर्छन् ।
महिलाहरू आत्मनिर्भर भएमा हरेक परिवारको आर्थिक उन्नति हुन्छ।
भूगोल र सम्भावनालाई मध्यनजर गर्दै राज्यले शिक्षा नीति बनाउनु पर्दछ र महिलाहरूलाई सोहीअनुसारको शिक्षा, सीप एवं तालिमहरू दिनु पर्दछ।
हरेक व्यक्तिलाई आधुनिक कृषिको आधारभूत विषयहरूको ज्ञान र सीप प्रदान गर्ने किसिमले राज्यले नीति तथा कार्यक्रम ल्याउनु पर्दछ। नेपालको अधिकांश जमिन कृषियोग्य जमिन भएको हुँदा महिलाहरूको कृषिमा व्यापक सहभागिता गराएर कृषिमा आमूल परिवर्तन गर्नु पर्दछ।
राज्यले घरैमा बसेर पनि महिलाहरूले गर्न सक्ने सेवा र उत्पादनको कामलाई नयाँ ढंगबाट व्यवस्थापन गर्न आवश्यक छ र साथै धनी र गरीब बीचको खाडल कम गर्न पनि निम्न र मध्यमवर्गलाई लक्षित गरेर तीनै तहको सरकारले योजना बनाउन पर्छ जस्तो मलाई लाग्छ ।
महिलाहरूलाई स्थानिय तहमा राज्यले स्वास्थ्य, विकास निर्माण लगायतका सम्पूर्ण क्षेत्रमा अवसर प्रदान गर्ने नीति तथा कार्यक्रम लिएर उनीहरूको नेतृत्व विकास गर्नु पर्दछ।