यौन शोषण, जबर्जस्तीकरण र सामुहिक बलात्कार

|

आजभोलि नेपाल लगायत अन्य पश्चिमी राष्ट्रहरुमा पनि महिला यौन हिंसात्मक कार्यहरू धेरै भैरहेका छन् । यो वा त्यो वाहानामा महिलाहरू माथि यौन शोषण गर्ने कार्यहरू बढ्दै गइरहेका छन् । नावालिका देखिनै महिलाहरु सुरक्षित छैनन् । सार्वजनिक यातायातमा यात्रा गर्दा होस् , कुनै कार्यालयमा कार्य गर्दा होस् , लामो दूरीको यात्रा गर्दा होस् , घरमा एक्लै बस्दा होस् जे गर्दा पनि महिलाहरू सुरक्षाको प्रत्याभूत गर्न पाइरहेका छैनन् । अझ कोरोना भाइरसले गर्दा स–परिवार घरमै हुने, त्यसमाथि सम्पुर्ण कार्यहरू महिलाले नै गर्नुपर्ने भएकोले कार्यभार पनि बढ्दैछ । त्यसमाथि विवाहित महिलाहरु पनि यौन हिंसाका सिकार बनिरहेका छन् । विवाहित बलात्कारका घटना र उजुरीहरु बाहिर नआएका पनि होईनन् । कामको भार उस्तै , जबर्जस्ती यौन सम्बन्ध राख्नैपर्ने श्रिमानको प्रस्ताव विवाहित महिलाहरूमा देखिएको हिंसात्मक घटना नै हो । अन्य बालिका , किशोरी ,महिलाहरु पनि आफ्नै परिवारका सदस्य तथा अन्य पुरुषहरुबाट यौन शोषण, जबर्जस्तीकरण , सामुहिक बलात्कार जस्ता हिंसाहरुको सामना गरिरहेका घटनाहरू दिनानुदिन बढ्दै गइरहेका छन् । बलात्कार शारिरीक सम्बन्धलाई मात्रै भन्न मिल्दैन ।

तिमी पुरुष हौ भने , बाटोमा हिडिरहेको बेला, यात्रा गरिहेको बेला होस् वा अरु अवस्थामा महिलाहरुलाई गर्ने व्यवहार, छुने तरिका , बोल्ने अश्लील शब्दहरु पनि मानसिक तनावमा पर्छन् । यस्ता घटनाहरुलाई मानसिक रुपमा गरिएको बलात्कार हो भनेर तिमी (पुरुष) ले बुझ्न जरुरी छ । आर्थिक वर्ष २०७६ चैत्रदेखी मिती २०७७ असोज ९ गतेसम्म प्युठानमा जबरजस्ती करणकीका ८ वटा घटनाहरु दर्ता भएका छन् । जसमा वैशाखमा १, जेष्ठमा १, असारमा १ र भदौमा ५ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय प्युठानमा दर्ता भएका छन् । त्यस्तै जवरजस्ती करणी उद्योगका घटना असारमा १ र भदौमा १ गरि लकडाउन अवधिमा २ वटा दर्ता भएका छन् । लकडाउनकै अवधिमा यसरी महिलाजन्य घटना घटिरहेका छन् ।

जुनसुकै घटनालाई पनि सामान्य रुपमा सोचिरहेको आकलन गर्न सकिन्छ, हाम्रा उच्च पदमा रहनुभएका व्यक्तिहरुले । महिला यौन हिंसाका घटनालाई गम्भीरतापूर्वक नियाल्ने समय छैन, हाम्रो देशका न्यायपालिकामा रहने व्यक्तित्वहरुमा । देशमा कहाँ कहाँ कसको बलात्कार भयो , कहाँ महिलाहरु माथि हिंसात्मक घटना भयो, के कस्ता जटिल र अकल्पनीय घटनाहरू भैरहेका छन् , भन्ने जानकारीका लागि समाचारको प्रतीक्षामा हुन्छन् आम सर्वसाधारण जनताहरु जस्तै । छिटोछिटो घटनाहरु पत्ता लगाएर समाधानका विकल्प खोज्नु त कहाँ हो कहाँ , कहाँ कति फाइदा हुन्छ, कुन राजनीतिक दलको कार्यकर्ता हो हिंसा गर्ने व्यक्ति भन्ने मै ध्यान केन्द्रित हुन्छ सुरक्षा निकायका कर्मचारीहरुको ! हामी विचरा जनताहरु सडकमा आन्दोलन गरेर दोषी कार्वाही हुन्छ कि , धरना बसेर न्याय मिल्छ कि , अनसन बसेर हाम्रो माग सम्बोधन गर्छ कि ! भन्दै यस्तै गतिविधि गर्न बाध्य हुन्छौं । अरु विकल्प के होला सोच्नै छाड्यौ हामी नेपाली जनताहरुले ।

तर हामीले यतिका कष्ट गर्दा के पाइरहेका छाँै, याद गर्नु भएको छ ? आश्वासन ! कति सजिलोसँग दिन्छन् , आश्वासन याद गर्नु भएको छ ? हामी आश्वासन कै लागि मरिहत्ते गरेर सडकमा आन्दोलन गरेको जस्तै गरी ! अझै जनतालाई भ्रममा पारिरहेका छन् । हामीले न्याय दिलाउन कुनै कदम छोड्ने छैनौं भन्छन् नि । अरे बाबा ! अब अगाडि नै कदमलाई फरक बाटोमा हिडाएपछि अब हामीलाई कदम अगाडि बढाउने कामले न्याय भेट्टिन्न भन्ने थाहा भयो । जनतालाई अबुझ ठान्नेहरुलाई के थाहा , उनीहरुलाई भन्दा घटनाको जानकारी जनताहरुलाई नै छिटो भइरहेको हुन्छ भनेर ।

अहिलेको अवस्थामा हिंसात्मक घटना भन्दा पनि स्वास्थ सेवामा ध्यान दिनु पर्ने रे । अरे ! के नेपालका न्यायाधीशहरु, नेताहरू, अन्य व्यक्तित्वहरु सबैजना स्वास्थ्य सेवा दिनलाई स्वास्थ्य कर्मी जसरी खटिरहेका छन् र ? सबैको कार्य क्षेत्रहरु छुट्याइएको छ । कुनै अपवादमा स्वास्थ्य संस्थाहरुसम्म लैजाने कार्य, क्यारेन्टाइनहरुको व्यवस्थापन कार्य त भइरहेका होलान् तर २४ घण्टा डाक्टरजस्तै बनेर अस्पताल अहिलेसम्म राजनितिक दलका व्यक्ति बसेका त छैनन् नि ! मलाई यस विषयमा जानकारी छैन् । अपराध गर्नेले सजाय र गल्ति गर्ने माफीको भागिदार हुनुपर्छ । हाम्रो नेपालमा त कुनै राजनिति दलको कार्यकर्ता भएर हिडेपछि, ती व्यक्तिहरुले गल्ती गर्दा माफी त माग्नु पर्दैन । के को सजाय पाउछ भनेर म विचरा बुबुरो हेरिरहेछु । नेपालका राजनिति दलहरुको ठुलो कमजोरी अपराधीहरुलाई लुकाउनु हो ।

अहिले सबैको अनुहार पुस्तिका ( Facebook ) भरि, बाइकको अगाडि ,प्रत्येक प्रहरी चौकीहरुको भित्ताहरुमा, प्रत्येक पसलमा निर्मला हत्याकाण्डको न्याय मागिरहेको जस्तै गरेर ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने पोस्टरहरु राखेका छन् । तिनीहरु साच्चिकै अन्याय विरुद्धमा छन् त ? अहँ मलाई लाग्दैन, अरुलाई देखाउन र अभियान्ताहरुको प्यारो बन्नलाई, पिडित पक्षहरुको नजरमा राम्रो बन्नलाई त्यसो गरेका व्यक्तिहरू पनि धेरै छन् । सडकमा उत्रिएका सबैको मनमा पूर्णत ः सकारात्मक सोंच छ भन्न मिल्दैन । फेरि सकारात्मक छेैन भन्दैमा नकारात्मक भन्न पनि मिल्दैन । समाजका वृद्दिजिवी भनाउदाँका घरहरूमा जसरी परिवारका हरेक महिला हिंसाका सिकार भैरहेका हुन्छन् । त्यसरी पनि नियाल्न जरुरी छ , यो अभियानमा लागेका अभियान्ताहरुलाई । बाहिरी न्यायको खोल ओढेर भित्री रुपमा अपराधगर्नेहरू पनि यो अभियानमा संलग्न छन् ।

हामीहरूले उठाउने गरेका कदमहरु कुन गतल र कुन सहीभन्ने निक्यौल निकालेर अगाडि बढ्नु हाम्रो जिम्मेवार हो । यसरी न्याय मागिरहेको गतल त छैन ? सोचिरहेका त छैनौं ? हजारौंको सोचमा निर्मलालाई न्याय दिनुपर्छ भन्ने हुदाहुदै न्यायपालिकामा नभएको हो त? राष्ट्रपति जस्तो गरिमामय पदमा महिला हुदाहुदै यस्तो हत्याकाण्डलाई गम्भीरतापूर्वक नलिनुमा उनको गल्ती मान्ने कि अपराध ? जुनसुकै व्यक्तिले गल्ति गर्छ भने माफ माग्नुपर्छ र अपराध गर्छ भने सजाय पाउनैपर्छ । हाम्रो सिद्धान्तले पनि हामीलाई यहीँ सिकाउछ । हामी नेपालीहरू अरुको आलोचना गर्नमा धेरै खप्पिस छौँ । राम्रो होस् वा नराम्रो होस् ।आलोचना नगरी हामीलाई निद्रै आउदैन । केही उपलब्धि पाएका छैनौं । भन्नलाई गर्नै नसक्ने कुराहरू पनि सजिलै भन्दिन्छन् हाम्रा देशका उच्च पदमा रहेका ,व्यक्तिहरू । बनाएको कानुन त राम्रोसँग प्रयोग गरेर समस्याको समाधान गर्न सक्दैनन् । अझ ठुला कुरा कसको लागि होला ?

जसरी १३ बर्षिय बालिका निर्मला पन्तको कञ्चन्पुरमा २०७५ साउन १० गते सामुहिक बलात्कार पछि हत्या भयो । त्यसरी नै अरु बालिकाहरुको पनि हत्या भैरहेका छन् । मिति २०७७ असोज ९ गते बझाङको मष्टा गाँउपालिका वडा नं २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको खबर पनि दिनेश खबर अनलाईनमा बाहिर आएको छ । आज निर्मलाले न्याय नपाउनु भनेको भोलि तपाईं हामी अनि हाम्रै समाजका चेलिबेटीहरुलाई बलात्कार गर्न हौसला प्रदान गरिरहेको जस्तै हो । सबैले सम्मान गर्न सिक हरेक बालिका ,किशोरी ,युवती र महिलाहरूलाई । निर्मलाको घरमा गएर सात्वना दिने व्यक्तिहरु धेरै कम थिए जति सडकमा उत्रिएका थिए । उनको परिवारलाई कस्तो असर भयौं होला भनेर सोच्नुको साटो सडकमा उभिएका हामीले केही पाएनौं । पायौँ त केवल आश्वासन ! त्यसैले राम्रो बाटो हामीले खोजौँ । यस्ता घटनाहरु न्यूनीकरण गर्नका लागि हामीले सुचनाहरु छिटोभन्दा छिटो सम्बन्धित निकायमा जानकारी गराई सक्दो सहयोग गरौँ ।
-पुजा भुसाल
बालअधिकारकर्मी

२०७७ आश्विन १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।