‘नो’ भन्न हिम्मत चाहिन्छ

|
– सोफिसा थापा (गायिका)
एकातर्फ गीत हटाउन र नहटाए भौतिक कारबाही गर्ने धम्की आइरहँदा अर्कोतर्फ शुभकामना र ऐक्यबद्धताका आवाज पनि आइरह्यो । एउटा समुदाय भने मूकदर्शक भएर ‘तमासा’ हेरिरह्यो । एकथरीले कलाकारको सस्तो लोकप्रियता (भाइरल) बन्न चाहने सामाजिक मनोविज्ञानमा टेकेर आक्षेप लगाए ।
तर, त्यसरी आक्षेप लगाउँदै गर्दा मेरो अभिव्यक्ति स्वतन्त्रता, संवेदशीलता, विश्वासबारे भने सचेत भएनन् । जुन समूह मेरो गीतलाई दमन गर्न लागिपरेको छ, त्यही समूह उसको आफ्नै जीवनका दबाब र असहजताबारे सचेत छैन । खासमा मेरो गीतमाथिको दमन ‘नो’ विरुद्धको ‘नो’ हो । ‘यस्’ भन्ने परम्परामा ‘नो’ भन्दा एउटा तरंग सिर्जना भएको छ । यो खासमा ‘नो’ को अस्तित्व स्वीकार नगर्नु हो ।
‘नो’ सुन्दा नकारात्मक, असहमति र विरोध सुनिन्छ तर ‘नो’ भन्न हिम्मत चाहिन्छ । विकल्प, विवेक र तर्क पनि चाहिन्छ । ‘यस्’ ले जति हिंसा, अराजकता र कुण्ठालाई प्रश्रय दिएको छ, ‘नो’ ले दिँदैन । ‘नो’ ले निरन्तरतालाई चुनौती दिन्छ, अवरोध गर्छ र कहिलेकाहीं झुक्न बाध्य गराउँछ । निरन्तरतामा आफ्नो सहजता र नाफा देख्नेका लागि ‘नो’ भयानक समस्या हो ।
तर, यही ‘नो’ परिवर्तन र सुधारका लागि शस्त्र पनि हो । चलिआएको अभ्यासले मानिसलाई सहज त बनाउला तर क्रियाशील, सिर्जनशील बनाउँदैन । हाम्रो भविष्यकर्ममा निर्धारण नभएर एउटा अमूक शक्तिमा निर्भर हुने परम्परालाई धर्म बनाउने कोसिस जारी छ । अनि यस्तो धर्मले मानव सभ्यतालाई मिथहरूमा निर्भर हुने मनोवैज्ञानिक बाध्यतामा पुर्याएको छ ।
मलाई प्रश्न गरिन्छ, ‘तिमीलाई ‘नो’ भन्ने अधिकार कसले दियो ?’ झट्ट हेर्दा समुदाय ‘नो’ सँग डराएको देखिन्छ । किनकि मेरो सामान्य गीतले असामान्य स्थिति सिर्जना भयो, त्यसैले थाहा भयो अब ‘नो’ अत्यन्तै शक्तिशाली प्रतीक रहेछ । ‘बी पोजिटिभ– सकारात्मक बन’ भन्ने आदर्शमयी वाक्यांशलाई अगाडि सारेर समाज हामीलाई प्रश्न नगर, शंका नगर, विरोध नगर, विद्रोह नगर भन्छ ।
हाम्रो वैचारिकतामा गडिसकेको यो ‘सकारात्मकता’ ले ‘नो’ लाई वर्जित गरेको छ र यस्तो गर्दा मानव असान्दर्भिक बन्धन र बाध्यताको दास बनिरहेको छ । जुन समाजले ‘यस्’ को राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक प्रभावलाई बुझेर ‘नो’ भन्न सक्ने विचारलाई स्थापित गराउन संघर्ष गर्यो, त्यो समाज अभाव, त्रास र बन्धनबाट मुक्त भएर प्रगतिशील, स्वतन्त्र, समुन्नत अनि समृद्ध बनेको यथार्थ हामीले विश्वका धेरैतिर देखेका छौं ।
तीजको नाममा भोकभोकै बसिने व्रतपछाडिको बाध्यतालाई मैले गीतमार्फत ‘नो’ भनिरहँदा हामीले बाँचिरहेको समाजमा ‘नो’ भन्नुपर्ने विषय प्रशस्तै छन् भन्ने बोध गरेँ । धर्मको नाउँमा भइरहेको व्यापार, विभाजन, जातीय प्रथा र त्यसले मनोविज्ञानमा परेको हिंसात्मक प्रभावलाई हामीले ‘नो’ भन्न सक्नुपर्छ ।
नागरिकको स्वतन्त्र बाँच्न पाउने हकविरुद्ध काम गर्नेलाई ‘नो’ भन्नुपर्छ । नागरिकले वर्षौंसम्म न्याय पाउन लडिरहनुपर्ने अवस्थालाई ‘नो’ भन्नुपर्छ । ‘नो’ भन्नुपर्छ पैसा र शक्तिका आडमा हुने अपराधलाई, जनताबाट उठाएको करमाथि हुने बाँडफाँड र लुटलाई । जनताका सपनालाई कुर्सीको स्वार्थमा राजनीति गर्ने सोच र व्यवहारलाई ‘नो’ भन्नुपर्छ ।
लाखौं युवा बेरोजगारीका कारण विदेश जान निर्माण भएको बाध्यतालाई ‘नो’ भन्नुपर्छ । महिला/बालबालिकाप्रतिको विभेदलाई ‘नो’ भन्नुपर्छ । महिलामाथि भइरहेको एसिड आक्रमणदेखि बलात्कारलाई ‘नो’ भन्नुपर्छ । हरेक असमानता, विभेद, अराजकता र भ्रष्टाचारलाई ‘नो’ भन्नुपर्छ ।
असहमत अभिव्यक्तिप्रति दबाब, धम्की र हिंसाको प्रवृत्तिलाई ‘नो’ भन्नुपर्छ । हरेक ती संस्कारलाई ‘नो’ भन्नु छ, जसले मानव सभ्यतालाई उत्पीडित र बन्धक बनाएको छ । तिनलाई ‘नो’ भन्नु छ, जसले शक्ति, प्रथा र परम्परा प्रणालीलाई व्यक्तिको जीवन प्रणालीभन्दा माथि बनाउँछ ।
‘नो’ भन्न कठिन छ । ‘नो’ पछिका परिणाम पनि भयानक छन् । ‘यस्’ भन्नुमा जुन सहजता छ ‘नो’ भन्नुमा छैन । आफू दबिएर पीडित भएर ‘यस्’ भनिरहँदा आश्रय त पाइएला तर त्यसले गर्ने मानवजातिमाथिको दमन, मानव सार्वभौमिकतामाथिको अपमान र नयाँ पुस्ताको भविष्यमाथि अन्यायपूर्ण सम्झौता हुनजान्छ, जसको क्षतिपूर्ति कहिल्यै तिर्न सकिँदैन ।
‘नो’ भन्दा स्वार्थ र नाफा कमाउने भीड आइलाग्न सक्छन्, जसले डर, धम्की र भौतिक कारबाहीको चेतावनी दिन्छन् । तर, स्वाधीनता, स्वाभिमान र स्वतन्त्रताको संरक्षण गर्न त्यो एउटा अर्थपूर्ण पाइला अवश्य बन्नेछ ।
हाम्रो जीवनवरिपरि हरेक दिन, हरेक क्षेत्रमा भइरहेको अराजकता, अन्याय, अन्योल, विभेद, अपमान आदिले उकुसमुकुस बनाइदिएको छ । अब सबैको मूकदर्शक भएर ‘यस्’ भनेर बस्यौँ भने हामीले आफ्नो विवेक, स्वाभिमान र अस्तित्वमाथि नै अपमान भएको महसुस गर्नुपर्छ । अब ‘अति भयो’ भनेर आफ्नो ठाउँबाट, आफ्नो सामर्थ्यबाट उठेनौँ/बोलेनौँ भने आफूलाई दास बन्न स्वीकार गरिएको हो भन्ने स्थापित हुनेछ ।
धेरैले ‘नो’ भनिरहेका छन् । हामी पनि लयबद्ध भएर ‘नो’ भनौं । यस्तो एउटा समाजको परिकल्पना गरौं, जहाँ निर्णय आफ्नै हुन्छ । जीवन आफ्नै हुन्छ । खुसी केवल आफ्ना हुन्छन् । देश आफ्नै हुन्छ, माटो आफ्नै, मुटु आफ्नै । विभेद, अत्याचार र सांस्कृतिक बन्धन अब अति भयो । अब भनौँ– नो प्लिज !
हामी कलाकार र स्रष्टाको काम सिर्जनामार्फत परिकल्पना गर्नु हो, जहाँ हरेक मानिस स्वतन्त्र, निडर, जिम्मेवार, शान्त र एकताबद्ध हुन सक्छ । त्यसैले त गायक जोन लेननले ‘इम्याजिन’ गीतको परिकल्पना गरे र भने— कल्पना गरौं स्वर्ग छैन, नर्क छैन, देश छैन, धर्म छैन, स्वामित्व छैन, छ त केवल एक संसार अनि शान्ति ।

२०७७ श्रावण १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।