ए दिन !

|
ए दिन !
तिमी सुस्ताउन मिल्दैन केही हप्ता ।
यहाँ गाह्रो छ मलाई
बरु अँध्यारो नै सही लगिरहेको छ
कारण धेरै छन।
ओथारो बसेकी कुखुरी जस्तै पार्यौ।
तिमी नै बस ओथारो र जन्माएर ल्याऊ,
अनगिन्ती उज्याला चल्ला समय
फन्को मारेर नआऊ यहाँ
उतै हराऊ कतै।
जहाँ,दिन काट्न मुस्किल छैन,
जहाँ,भोक टार्न मुस्किल छैन,
जहाँ,रोग टार्न कठिन पर्दैन
तिम्रो उज्यालोभन्दा अँध्यारो नै मन पर्ने भएको छ;
किन कि उज्यालोमा;
सीमानाका घाउ देखिन्छन् ,
रिन तिर्न बाँकी साहु देखिन्छन् ,
भ्रस्टका आफ्नै दाउ देखिन्छन् ,
हर सामानका महंगा भाउ देखिन्छन् ।
ए दिन !
तिम्रो लालिमाको श्पर्शले आउने ऊर्जा हराएकोछ।
उता देशको लालपुर्जा हराएकोछ।
त्यसैले,अहिले तिम्रो स्पर्श पटट्यार लाग्ने भएको छ।
भारी भएको छ,तिमीले बोकी ल्याएको समय।
तिम्रा पदचाप बिषालु लाग्न थालेका छन् ,
हरेकका ढाडमा टेकेर,तिमी सयर गर्दैछौ,
र त हरेकका ढाड सेकिएका छन ।
ए दिन!
तिमी मन नपर्ने भएका छौ,
त्यसैले न आऊ,तिमी तबसम्म,
जबसम्म,तिमीले बोकेको बिषालु ,मैलो,श्याम श्वेत समय
बैंसालु इन्द्रधनुस समयमा बदलिंदैन।
लालिगुराँसका रंग पनि फिक्का भएका छन् ,
कोहिलीका कुहु,कुहु बिराना भएका छन् ,
न्याउलीका बिरहमात्र गाढा बनेका छन् ।
त्यसैले तिम्रो घुरमैलो आगमन अपाच्य भएको छ।
यहाँ सबै तिम्रो जादुमयी आगमनको प्रतिक्षामा,
दियोमा तेल थप्दै पर्खिएका छन् ।
पन्चेबाजामा ताल मिलाउन तम्सिएका छन् ।
र,म पनि उभिएको छु लाममा
तेल थप्दै दियोमा।
ए दुर्दिन!
दुर्दशा बनेर घरका भित्ताका छिपकिली झैँ नचप्क
तिमीले बोकेको घुर,कसिंगर,बढार्न झाडु लिएर
पर्खिरहेका छन् मान्छेहरू,
पूरा गर्नुछ तिमीले दिएको घाउको खाटो
हात मुख जोड्न जोत्नु छ बारीको पाटो
तिम्रो निगमनको
र ,स्वस्थ्य समयको आगमनको प्रतीक्षा गर्दैछु।
तिम्रो बिदाईमा बरु फूलमाला उन्दैछु।
-पुष्पलाल शाही

२०७७ असार ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।