
कलिला फूल टिपेर चढाउनुपर्ने मन्दिर र चिहान दुबै उस्तै लाग्छन्
अर्कैका लागि निमोठिने फूल र छोरीको मुस्कान दुबै उस्तै लाग्छन्
किन सोचेनौँ हामीले र ढल बनाइदियौँ, जसलाई गंगा भनिन्थ्यो
पवित्रतामा त आमाका स्तन र नदीका मुहान दुबै उस्तै लाग्छन्
कसरी मरूभूमि बन्यो आज, हिजोको उर्बर हरियो कान्तिपुर
सम्झी ल्याउँदा मान्छेको भीड र सलहका बथान दुबै उस्तै लाग्छन्
हिमाल हिमालजस्तो रहेन, सागर सागरजस्तो रहेन मान्छेका कारण
आज मान्छेको मन र हिमालको नाङ्गो चट्टान दुबै उस्तै लाग्छन्
उपद्रो कतिसम्म गरिएछ आकाशको प्वालमा पनि प्वाल परिसकेछ
अब त सन्तानका निम्ति रूख रोप्नु र भगवानको ध्यान दुबै उस्तै लाग्छन्