
यति हरियालीलाई हरियो नदेख्ने यी नजरले
आज हरियो देखे तिमिलाई,
साउन आयो
धरतीले फेरि हरियो सारी लगाइ,
नदीको गहना, बादलको ओढनी, र
घामको मुस्कान बोकेर।
हरेक पहाड, हरेक पात,
हरियालीमा लिप्त छन् —
एकजना साध्वी झैँ,
शान्त, नतमस्तक, र मूकदर्शी।
कसैले हरियो चोलीमा बाँधे आफ्नो चुम्बकीय आँखाहरू,
कसैले हरियो सारीमा लुकाए आफ्ना भिजेका सपनाहरू
यी पहिरनहरू केवल रंग होइनन्,
यी त ऋतुका विचारहरू हुन्,
प्रकृतिले लेखेका कविता हुन्, जसलाई
नारीहरूले जीवनमा पहिरन्छन्।
साउनको हरियो दृष्टिले
जीवनलाई बेग्लै कोणले देखिन्छ —
जहाँ प्रेम, प्रतीक्षा र पवित्रता
एउटै रंगमा मिसिन्छन्।
हरियो नजर त्यो हो,
जो सुन्दरतालाई देख्दछ आँखा होइन, अनुभूतिले।
हरियो पहिरन त्यो हो,
जहाँ संस्कार, मौसम र मन
एकै लयमा बग्छन् निरव, तर गहिरो।
साउनमा चुरा खनकिन्छ !
तर त्यो आवाज केवल गहना होइन,
समयसँगको सम्झौता हो,
र सम्झनासँगको संगीत।
यही महिना हो,
जहाँ जीवन अलिक अल्छी बनिन्छ,
तर हृदय गहिरो, भावुक र सजग।
जहाँ वर्षा बाहिर मात्र होइन,
मनभित्र पनि झरिरहेकै हुन्छ।
हरियो नजर !
जीवनलाई हेर्ने त्यो दृष्टि हो,
जहाँ हरेक थोपा, हरेक रंग र हरेक स्वर
एउटा दार्शनिक मौनता बोकेर आउँछन्।
– धिरेन रोकाय क्षितिज
भेरी नगरपालिका जाजरकोट