
प्रकृति !
ओहो प्रकृति !
भन,
तिमी कति रुप फेर्छ्यौ ?
कहिले उजाड बनाउँछ्यौ
कहिले हरियाली ल्याउँछयौ
कहिले हिउँद बोलाएर थुरथुर कमाउँछयौ
कहिले ग्रिष्म बोलाएर पसिनाले भिजाउँछयौ
तिमी परिवर्तनशील छ्यौ चक्रजस्तै
घडीको सुई घुमेझैं तिमी घुमिरहन्छ्यौ
बेला पर्खिएर बसेको परदेशीझैं
दिन गनिरहन्छ्यौ रात काटिरहन्छ्यौ
मुस्कुराउँदा हराभरा देखिन्छ्यौ
रिसाउँदा अन्धकार देखिन्छ्यौ
तर समग्रतामा तिम्रो रुपभित्र
सकारात्मकताको अर्थ भेटिन्छ
किनभने हरेक प्राणीभित्र
तिम्रो प्राणता अडिएको छ ।। १ ।।
राजनीति !
ओहो राजनीति !
भन,
तिमी कति रुप फेर्छौ ?
अझै कति युवालाई प्रदेशी बनाउँछौ
कतिलाई कार्यकर्ता बनाउँछौ
भेला जम्मा गरेर आमसभामा
आसनका लागि भाषण गरिरहन्छौ
गोरु बेचेझैं पैसाको बिटोसँग
भन कतिलाई टिकट बाँड्छौ
क्रान्ति, परिवर्तन र विकासको नारा भजाएर
कतिलाई सडकमा टायर बाल्न पठाउँछौ
भन अझै केकेमा तिम्रो भाग पुगेन
जनतालाई कर बढाउने र ढाड सेकाउने
घुमाउरो सिंहदरबारको बहाना साटेर
भन स्रोत सम्पदामाथि कुस्ती खेल्नु छ
तिम्रो रुप फेरिँदा जनता कुरुप हुन्छ
तिम्रो रुप फेराइको संस्कारभित्र
नकारात्मकताको जालो भेटिन्छ
किनभने तिमीसँग भएको वेदभित्र
छलकपटको मन्त्रले भरिपूर्ण छ ।। २ ।।
अचेल प्रकृति र राजनीति उस्तै उस्तै लाग्छ
दुबैको काम हो, रुप फेर्ने
एउटा रुप फेरिँदा मन फुरुङ्ग हुन्छ
अर्को रुप फेरिँदा सिसा फुटेझैं झुरुम्म हुन्छ
मान्छे प्रकृति फेरिँदा सानिध्यता साट्छन्
राजनीति फेरिँदा टाढा टाढा भाग्छ्न्
दर्शनको ऐना पल्टाएर हेर्ने हो भने
मलाई लाग्छ यी दुबै किरा हुन् ,
प्रकृति मौरी हो , राजनीति झिँगा हो ।। ३ ।
– श्रीधर भण्डारी