नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४ बाट युवा अभियान्ता बानियाँ सम्मानित

|

काठमाडौं । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष तथा युवा अभियान्ता सरोज बानियाँ नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४ बाट सरोज बानियाँ सम्मानित भएका छन् ।

लुम्बिनी वर्ल्ड पिस फोरमले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियान्ता बानियाँलाई पुरस्कृत गरिएको हो । बानियाँलाई युवा तथा सामाजिक रुपान्तरणका निरन्तर रुपमा कार्य गर्दै आएको हुनाले सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष बासु गौतम जानकारी दिए ।

युवाका लागि दिगो शान्ति र सामाजिक उद्यमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा संघीय संसद, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले पुरस्कृत गरेका हुन् । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष तथा युवा अभियान्ता बानियाँलाई करिब डेड दशक लामो युवाका क्षेत्रमा कार्य गरेको र ७७ वटै जिल्लाका युवाहरुलाई बिभिन्न कार्यक्रम तथा तालिम मार्फत सशक्तिकरण गर्दै युवाहरुलाई नेतृत्वदायी भुमिका ल्याउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा मानव अधिकार रक्षक एवं पत्रकार राजन कुईकेल र नेपाल युवा संस्था सन्जाल ९आयोन० का अध्यक्ष सुजता बराल पनि पुरस्कृत भएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सभापति खतिवडाले युवाका नाममा राजनीति गर्न आउनेले  गलत कामको आड लिनु दूर्भाग्यपूर्ण भएको बताए । उनले युवाहरू कुनै राजनीतिक रंग नदिएर मुलुकलाई अगाडि बढाउन एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । खतिवडाले युवाको मापदण्ड उमेर मात्र नभई समाजप्रतिको योगदान मुख्य कुरा भएको भन्दै सम्पूर्ण युवालाई देश र जनताप्रति समर्पित भएर अगाडि बढ्न आग्रह गरे ।

पुरस्कार वितरणका लागि गठित तीन सदस्यीय छनौट समितिमा ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए ।

कार्यक्रममा छनौट समितिका सदस्य अर्यालले सामाजिक उद्यमशिलता मार्फत् मुलुकको कायापलट गर्न सकिने भन्दै सकारात्मक योगदानका लागि सम्पूर्ण युवालाई आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले समाज, देश र विश्वस्तरमा देखिएका जल्दाबल्दा समस्या समाधानमा युवा संलग्नता र हस्तक्षेप जरूरी परेको बताए ।

२०८१ कार्तिक ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।