मान्यजनबाट टीका र जमरा लगाएर विजयादशमी पर्व  मनाइयो

|

नेपालगञ्ज । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व  मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको थियोे ।

११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ?
‘टीका जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले भन्नुभयो, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’

‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउन, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा.गौतमले भन्नुभयो ।

सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउनुहुन्छ ।

‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भन्नुभयो ।

टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताउनुभयो । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ३६ मिनेटको दिइएको उहाँले बताउनुभयो ।

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने उहाँले बताउनुभयो । तर टीका लगाउनु अघि देवी विसर्जन भने गर्नैपर्ने उहाँले बताउनुभयो ।

२०८१ आश्विन २६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।