जाजरकोट (छेडागाड) । जलवायु परिवर्तन न्युनिकरण गर्ने उद्देश्यले विद्यालयमा नवप्रवर्तन प्रयोगशाला स्थापना गरिएको छ । यस क्रममा प्लाष्टिकजन्य डस्टविनको प्रयोगलाई निरुत्साहित गर्दै स्थानिय स्रोत साधनलाई प्रोत्साहन गरि विद्यालयको फोहोर व्यवस्थापन गर्न पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको सहयोगमा १ विद्यालयमा १५ वटा बाँस तथा निगालोको डोको व्यवस्था गरिएको छ ।
परियोजनाका फिल्ड अधिकृत धिरेन्द्र रोकायका अनुसार, दुई विद्यालयमा नवप्रवर्तन सम्बन्धि कामहरु भइरहेको छ । नवप्रवर्तन कार्यक्रम अन्तर्गत तरकारी खेती, फुल बगैँचा स्थापना, वृक्षारोपण तथा फोहोर व्यवस्थापन जस्ता जलवायु परिवर्तन न्युनिकरण अनुकूलित तथा विद्यार्थीको व्यवहारिक शिक्षामा आधारित कार्यक्रमहरु रहेका छन्।
रामोदय माध्यामिक विद्यालय छेडागाड–४ का शिक्षक कर्ण बहादुर थापाले परियोजना अन्य कार्यक्रमले शैक्षिक ज्ञानलाई व्यवहारिकतामा बदल्दै विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्न सहयोग गरेको बताए । यसबाट जलवायु परिवर्तन न्युनिकरणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।
राम मावि छेडागाड–१० का प्रधानाध्यापक हरि कार्कीले पनि यस्ता कार्यक्रमले विद्यालयमा विद्यार्थी स्तरबाट समुदायका कुनामा पुगेर जलवायु परिवर्तन न्युनिकरणमा टेवा पुग्ने बताउनुभयो। उनले भने, यसअघि यस्ता कार्यक्रम पढाईमा मात्र सीमित थिए तर अब व्यवहारिक रुपमा भौतिक रुपमै विद्यार्थीको पढाइ गुणस्तरमा थप सहयोग पुग्नेछ ।
नवप्रवर्तन प्रयोगशाला सम्बन्धि विद्यालयमा विद्यार्थी र शिक्षकबीच जलवायु परिवर्तन सम्बन्धी अभिमुखिकरण कार्यक्रम पनि गरिएको छ । जलवायु परिवर्तन परियोजना संयोजक मान बहादुर शाहीले यस किसिमका कार्यक्रमले विद्यालय क्षेत्र हरियाली वातावरणको सृजना गर्ने, विद्यार्थीलाई व्यवहारिक ज्ञानवर्दक शिक्षा प्रदान गर्ने, तरकारी खेतिबाट विद्यालय दिवा खाजा कार्यक्रमलाई सहयोग पुर्याउने र विद्यालय भित्रको फोहोरको व्यवस्थापन गर्न सहयोग पुग्ने जानकारी दिनुभयो। साथै, यस्ता कार्यक्रमहरूले हरित विद्यालय कार्यक्रम निर्देशिका २०७५ को मर्म अनुरुप विद्यालयलाई हरित बनाउँदै जलवायु मैत्री गाउँ बनाउनमा ठूलो योगदान पुर्याउने पनि बताउनुभयो ।