”कचहरी”बाट सकारात्मक निष्कर्श निकालियो

|

१) कचहरीमा प्रवेशः
“तपाईले वकिल राख्नु भएको छ कि छैन दिदी ? “खै नानी ! मेरो लागि कसले काम गर्दे ला र ! भोकले मरेको मानिसलाई चामल चढाउने समाजमा ।” ओहो… के चोरी गर्नु भएको थियो ? अन्नको बोरा ! ‘मैले भनेको मान्नु हुन्छ भने म तपाईको मुद्दा लड्छु, मलाई केही दिनु पर्दैन’ । यो सम्वाद हो अठोट शीर्षकको । यसमा खेतमा पानी लगाउन जाँदा सर्पले टोकेर श्रीमान गुमाएकी सुन्तलीले आफना सन्तानको भोक सहन नसकेर अन्नको बोरा चोरेको स्वीकारेकी छन् । पक्राउ परेर अदालतको परिसरमा पुगेकी सुन्तली आर्थीक अभावका कारण एकतर्फी हार स्वीकार्न विवस भएर बसेकी थिइन् । यो परिस्थिति देखेर वकिल रेखाले सुन्तलीको पक्षमा निशुल्क मुद्दा लड्ने अठोट गरेकी छन् । बालबालिकाको भरण पोषण शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारको हुनेगर्दछ । यो बालबालिकाको मौलिक अधिकार पनि हो ।
कचहरी नामक कृति सामाजिक बिषयमा लेखिएको कथा संग्रह हो । यस कचहरीको छलफलमा सहभागि हुने अवसरका लागि पुलको काम गर्ने प्रिय भतिज गुरुप्रसाद कुमाल “बुलबुल”लाई धन्यवाद । कचहरीमा भाग लिंदा बेलाबखत आयोजक (लेखक)लाई सम्बोधन गर्नुपर्ने हुन्छ । सर्वप्रथम लेखक कल्पना पौडेल ‘जिज्ञासु’ उमेरले बहिनी भएकोले ‘तिमी’ भनेर सम्बोधन गर्ने अनुमति माग्दछु । सफल कथाकार कल्पना पौडेल ‘जिज्ञासु’लाई कथा संग्रह “कचहरी”का लागि हादिक बधाई । अब प्रसंग उठ्छ श्रीगणेश कताबाट गर्ने हो त ? “भनेपछि मानसिक रुपले, शारीरिक रुपले सन्तुष्ट हुनुहुन्छ ! भन्ने जिज्ञासामा एकछिनको सन्नाटालाई चिर्दै कथाकी विवेकि पात्र रमा भन्छिन्, “हेर्नुस्, तपाईको कुरा बुझें मैले, मानसिक प्यास मेटियो भने शारीरिक प्यास जहिले पनि छाँयामा पर्छ । शरीरका लागि मन विचलित गर्नेहरु कहिल्यै सन्तुष्ट हुन्नन् तर, मनका लागि शरीरको उपभोग गर्नेहरु कहिल्यै असन्तुष्ट हुदैनन्” ।

संग्रहको १३औं नम्बरमा रहेको समाजलाई चुनौति शीर्षकको कथाकी पात्र रमा को हुन् र उनीसंग लेखकको जम्काभेट बारे छोटो चर्चा । जाडो मौसममा ऋषि र लेखक साहित्यिक कार्यक्रम सकेर फर्किदा पानी पर्यो । ओतिनका लागि नजिकैको रेष्टुरेण्टमा पसे । त्यहाँ रमा र उनका नवदुलाह रमेशसंग लेखकको परिचय भयो । रमा आप्mना छोरा छोरी दुबैतिरबाट नानातिना देखेकी पाको एकल महिला हुन, भने उनका नवदुलाहा रमेश भरखरका युवा हुन् । उनिहरुले दुबैतिर घरसल्लाह गरेर यो अनमेल विवाह गरी रमाले रमेशलाई आप्mनो घरमा भित्राएको प्रति लेखकको ध्यानाकृष्ट भएको छ । मन मिल्यो र एक अर्कामा विश्वास भयो भने, अनमेल पनि मेल विवाहमा परणित हुदो रहेछ । पुरुष ७० वर्ष पुगेपछि श्रीमतीले स्वभाविक मृत्यूवरण गरे पनि युवति विवाह गर्दा सहज मानिने पुरुष प्रधान समाजमा यो विवाहले सकारात्मक शुरुवात गरेको छ । सम्वादमार्फत् आप्mना विचार राख्न दिएर लेखकले पात्रलाई न्याए गरेकी छन् ।
२) लेखक परिचयः
लेखक कल्पना पौडेल ‘जिज्ञासु’ परचय गराइरहनु पर्ने श्रष्ठा होइनन् । उनले समाजसेवा र साहित्य सिर्जनामार्फत् नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमासमेत पहिचान बनाएकी छन् । कचहरी उनको छैटौं कृति हो । यस अघि भावनाका भेलहरु गजल संग्रह–२०६९, जून हराएको रात गजल संग्रह–२०७१, पोखिएका खुशीहरु एल्बम–२०७५, बिद्रोहका तरङ्ग मुक्तक संग्रह–२०७७, कल्पदीप नीतिकथा संग्रह–२०७९ को साथै विभिन्न विधामा एक दर्जन भन्दा बढी संयुक्त कृतिहरु प्रकाशन भइसकेका छन् । छिस्ती बाग्लुङमा जन्मेकी लेखक स्नातक छन् । खजुरा गापा–३ बाँकेमा स्थाई बसोबास रहेकी कल्पनाका माता पिताको नाम मणिकर्ण पौडेल र टीकाराम पौडेल हो । उनले गजल श्री पुरस्कार तथा सम्मान–२०७० हाम्रो मझेरी प्रतिष्ठान चितवन, मिलियन डलर राउण्ड टाबेल (एमडिआरटी)–२०२२, जन रत्न पुरस्कार–२०२३ वल्र्ड क्रियटिभिटी फोरम नासिक महाराष्ट भारत, लगायतका पुरस्कार एवं दर्जनौ सम्मान हासिल गरेकी छन् ।

यसको साथै उनी कल्पना फाउण्डेशन नेपाल, अन्र्राष्ट्रिय नेपाली प्रगतिशील साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ नेपाल शाखामा अध्यक्ष र विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको सचिवमा रही नेतृत्व प्रदान गरेकी छन् । त्यस्तै एसिया मानवअधिकार तथा साँस्कृतिक बिकाश मञ्च, प्रगतिशील लेखक संघ, प्रज्ञा प्रतिष्ठान खजुरा बाँके, नेपाल पुस्तक तथा स्तेशनरी व्यवसायि महासंघ, अखिल नेपाल महिला संघ बाँके र लायन्स क्लव अफ नेपालगञ्ज खजुरा बाँकेको सदस्य रहेर कार्यसम्पादन गर्दै छन् । कृतिको मुखपृष्ठमा एउटा रुखमुनिको चौतारोमा कचहरी सञ्चालन भइरहेको चित्र नाम अनुसार चिटिक्क देखिन्छ । बाहिरी पृष्ठमा भूमिका तथा शुभकामना दिनुहुने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, वरिष्ठ सात्यिकार सनत रेग्मी र प्रज्ञा प्रतिष्ठान खजुरा बाँकेका उपकुलपति डां.इन्द्रबहादुर भण्डारीका संक्षिप्त टिप्पणि एवं प्रकाशक संस्थाको नामसहितको लोगो र आइ एस बि एन राखिएको छ । स्तरिय कागज र छपाइले कृति चिटिक्कै देखिन्छ ।
३) श्रीप्रसाद र मनकुमारीः
श्रीप्रसादकी श्रीमती हरिकला पाठेघरको क्यान्सरले बितेपछि उनी एक्ला भए । छोराहरु शहर पसे, छोरीहरु आप्mना घरघरमा । जेठो छोराले बजारको घडेरी हत्याए पछि बुढाले खोकेर रातभरि सुत्न दिएनन् भनेर गाउँ पठाइदिए । कान्छी छोरीले अष्ट्रेलिया जाउँ बुवा भन्दा गाउँको मायाले मानेनन् बड्डा । कान्छीले भनिन्, “बुवा दिदीकोमा बस्नुस्, म पैसा पठाइदिन्छु, गाउँको तिरोभरो पनि गर्नु र आरामसंग बस्नु । यत्तिकैमा श्रीप्रसाद बिरामी परे, नातिले उपचार गरायो । उपचारमा १० हजार लागेको थियो तर नातिले खातामा भएको पाँच छ लाख रकम सबै झिकेर चट पारेपछि श्रीप्रसाद लावारिस बनेर बीच सडकमा ढले । आखिर वृद्धाश्रम सञ्चालिका सज्जन महिलाले उनको उद्दार गरिन् । पछि श्रीप्रसादले आप्mनो सम्पूर्ण जायजेथा त्यही आश्रमको नाममा बकसपत्र गरिदिएका छन् । यो कचहरी कथा संग्रहको पहिलो रचना “बकसपत्र” हो ।
दोस्रो रचना हो मनकुमारी । मनकुमारी आप्mनो घर परिवार र सन्तानको सुन्दर भविष्यको कल्पना बोकेर बिदेश गइन् । त्यहाँ राम्रो काम गरिरहेको बेला फटाह कुमारले बोलायो र आप्mनो अभिष्ट पूरा गर्यो । मनकुमारीको पेटमा बच्चा रह्यो । कामबाट निकालियो । बच्ची जन्मिई । उनी बिरामी परिइन् । उद्दारकर्मी मुकुन्द थापाले उपचार गरी स्वदेश पठाइदियो । मनकुमारी अर्कै लोग्नेमान्छेको बच्चा काखमा लिएर घरमा आउन सकिनन् । प्रदेशमै परिचय भएकी साथी सुनिताले उनको उद्दार, सहयोग र उद्यम सिकाएर आत्मनिर्भर बनाएकी थिइन् । अन्तमा मनकुमारीका श्रीमानले थाहा पाएर उदारता पूर्वक अंगालेर घरमा लिएर गएका छन् ।
४) कृतिको नामः
यो “कचहरी” नामको शीर्षकले वास्तवमा सामन्तवादी जमिन्दारको प्रतिनिधित्व गर्दछ । मोतिलाल धोबि र मनकली धोबिकी छोरी कोयलको दाइजो कम भएको कारण मारिएकी थिइन् । यसको बाँके जिल्ला अदालतको फैसला उल्टाउदै १४ वर्ष पछि सर्बोच्च अदालतले दुईजनालाई जेल र आर्थीक जरिवाना सुनाएको थियो, यतिबेला कोयलका बाबु आमाको न्याएको प्रतिक्षा गर्दा गर्दै मृत्यू भइसकेको थियो । त्यस्तै गाउँको जमिनदारको छोरो गोबिन्देले लाहुरे काकाकी बहिनी उर्वसी लाई गर्भवती बनाएको मुद्र्दामा बसेको कचहरी ले न्याए दिन सकेन । गाउँको लाटो सोझो धुर्बेलाई गोबिन्देले उर्वसीलाई स्वीकारेमा पारिको जमिन दिने र अस्वीकार गरेमा मारिदने प्रलोभन र धम्की दिएकोले धुर्बेले आत्महत्या गरेको छ र उर्वसी बेपत्ता पारिएकी छन् । यो अन्याए सहन नसकेर लाहुरे काका पनि बसाई सरेका छन् ।
आठौं नम्बरको कथा छ अन्तरमनको संसार । यसमा प्रियाले आप्mनो जीवनको यस्तो मिठो कल्पना गर्छिन की बयान गरेर साद्दे छैन । उनको कल्पनाको पति र सन्तानबाट धेरै आनन्दानुभूति गर्छिन । तर वास्तविक संसारका पतिबाट सारै दुखित हुन्छिन् र अन्तमा उनी पागल नै मानिन्छिन् । यो असफलताको कथा हो । यसले के बुझाउँछ भने, कल्पना गर्नु भनेको सिर्जना हो, तर त्यो सिर्जनालाई व्यवहारमा ल्याउने कार्य कर्मले गर्दछ । पारिवारिक जीवनको कर्म एक्लै सम्भव हुदैन, त्यसमा पारिवारिक सहकार्य आवश्यक हुन्छ, प्रियाले मन बुझ्ने सहकर्मी पाइनन् ।
रामजी पीडित पात्र हुन् । उनका बाउले आमा छँदै सौतेनी आमा ल्याए । आमा लखेटिएर मामाघर गएर बसिन् । रामजीले सौतेनी आमाबाट जन्मेका भाइको धराले गर्दैमा स्कुल पनि जान पाएनन् । अलि हुर्केपछि भारततिर भाँडा माझेर आप्mनो भाइ भरतलाई उच्च शिक्षा पढाएर जापान पठाए । मामलिले बनाइदिएको झुपडिलाई राम्रो बनाए । गाडीले हानेर अपाङ्ग भएपछि आमा र भाइ दुबैले वास्ता गरेनन् । तर सरकारी स्कुलमा पढेकी जेठी छोरी रन्जु छात्रवृद्धिमा डाक्टर बनेर रामजीलाई राहतमात्र दिइनन्, अंकल भरतले वृद्धाश्रममा पठाएकी हजुर आमालाई पनि फर्काएर आप्mनो घरमा ल्याएकी छन् । फातिमा संघर्शकी प्रतिमुर्ति युवा पात्र हुन् । बाल्यकालमै पराइघर समाल्न पुगेकी उनले उच्च शिक्षाका साथ उत्कृष्ट उद्यमि अवार्ड प्राप्त गर्दै आप्mना बाजे सामन्तवादी जमिन्दार रहिस खाँ लाई बेटी पढाऊँ अभियानमा डोराएकी छन् ।
५) अन्य शुभकामनाः
अन्य शुभकामनामा कृतिकार अध्यक्ष रहेको संस्था कल्पना फाउण्डेसन नेपालका सचिव लेकप्रसाद प्याकुरेल खुशी व्यक्त गर्दै शुभकामना दिनु भएको छ भने, प्रकाशक संस्था विद्या विकास पब्लिकेसन प्रा.लि.ले आगामी दिनमा थप कृति प्रकाशन गर्ने अपेक्षासहित शुभकामना दिएको छ । लेखकले आप्mनो लेखकीयमा प्रत्यक्ष अप्रत्यक्ष प्रकासनमा सहयोग, सल्लाह, सुझाव एवं शुभकामना दिनुहुने धेरैलाई सम्झिएकी छन् ।
६) अन्य चर्चाः
प्रतिशोध शीर्षकमा फटाह दलाल धनपतिको छोरा सुरजले बुवा बेपत्ता रहेका भाइ बहिनी र आमालाई घर चलाउन महत्वपूर्ण भूमिकामा रहेकी युवती मीनालाई विवाह गरेको नाटक गरेर बम्बै लगेर कोठीमा बेच्यो । कुनै तरिकाले त्यहाँबाट भागेर घर आई गाउँमा कचहरी बसालेर ती बाबु छोरा दलाललाई प्रहरी समक्ष बुझाएको कथा रहेको छ । पूनर्विवाह शीर्षकमा तराई मुलकी विधवा बुहारी राधालाई लोग्ने टोकेनीको आरोप छ । उता भवानीका श्रीमान मोहनकृष्ण बेपत्ता पारिए पछि, भवानीले एउटा मात्र छोरो तुफान(नाम परिवर्तन) पनि बेपत्ता पारिदिन्छन कि भन्ने डरले पहाड छोडेर बर्दिया त्यही गाउँमा बसेकी थिइन् । एकल महिला राधाको पीडा सहन नसकेर भवानीले आप्mनो अविवाहित छोरा तुफानसंग विवाह गराइदिएको कथा बडो मिठोगरी पस्किएकी छन् लेखकले ।
मातृत्व शीर्षकमा संगीताका पति र छोरी भूकम्पमा परेर मृत्यु हुन्छ । बचेको छोरोलाई हुर्काएर जवान बनाएपछि कोरोनाले खाइदिन्छ । अब संगीतालाई मातृत्व खट्किन्छ । दाजु भाउजुको व्यवस्थापनमा छोरा छोरी हुर्केर बाहिरी सकेका एकल पुरुष (परिवार नियोजन गरेका)संग विवाह गर्छिन् । हुर्केका सन्तानले बुवाको खुशीका लागि विवाह स्वीकारे पनि ममत्व स्व्ीकारेनन् । अन्तमा संगीताका श्रीमानले अनाथालयबाट डेढ महिनाकी बालिका ल्याइदिएर उनको मातृत्व पोख्ने मार्ग प्रसस्त गरिदिएका छन् । त्यस्तै रजनीले राजसंग प्रेमविवाह गरेर रोशन र रोजी छोरो छोरी जन्मिएका थिए । घर चलाउन समश्या भएपछि सल्लाहले रजनी कोरिया गइन् र राम्रो कमाई पठाई घरको व्यवस्थापनमा राजले सुधार गर््यो । तर निश्चित समय पछि रजनी घर आउँदा राजले अर्की रजनीको कमाइ लुट्ने कुनियतवाली स्वीकारेको रहेछ र रजनीलाई वैदेशिक आरोप लगाएर अपमान गर्यो । तर नयाँ श्रीमतीले राजलाई कस्टडिमा फसाएर घरबार बिहिन बनाएको कथा रजनीको प्रेम शीर्षकमा रहेको छ ।
अर्को कथा ‘मृत्युको पर्खाइमा’ भन्ने रहेको छ । यो पंकज नाम गरेको युवा पात्रले पढेको चरा चरीको कथामा पोथी चरा कमाउन बाहिर गएको बेला भालेले अर्की चरी भित्राउँछ र पहिलेकी चरीलाई मरम कि बाचम अबस्था भएको छ । मैनाले आमा गुमाइन् । बुवाले सौतेनी आमा ल्याउनु भो । बुवा पनि परमधाम जानु भो । सानो सोतेनी भाइ मैनाको काखमा छोडेर घरको जायजेथा लुटमुटाएर सौतेनी आमा अन्तै हिडिन् । मैनाले भारतको केरलामा काम गर्ने जीतबहादुर संग विवाह गरेर आप्mना सन्तानसहित जीवनयापन गरिरहेको बेला दुर्घटनामा श्रीमानको मृत्यु भयो । जीतबहादुरले जीवन विमा गरेका रहेछन् । मैनाकी साथी विमा अभिकर्ता सरिताको पहलमा ४० लाख विमा रकम हात परेपछि बल्ल मैनाको घरखर्च चलेको कथा जीवन आधार शीर्षकमा रहेको छ । प्रतिकार शीर्षकको कथामा छिमेकी बालिका आरतीलाई मोबाइल खेलाउन दिई ऊमाथी कुदृष्टि राख्ने मुकुन्देको प्रतिकार गरी प्रहरीमा बुझाइएको छ ।
७) अन्त्यमाः
कृति पूर्ण हुदैन भन्छन्, तर यो कचहरी पढेपछि साधना पूर्ण हुदो रहेनछ क्यारे जस्तो लाग्यो । पढेर, सिकेर र लेखेर त कहिले पो सकिन्छ र ! कुनै न कुनै बिषयमा साधना पनि चलिरहने पक्ष हो । कथा संग्रह कचहरीमा मौलिक शब्दका थुङ्गा थुङ्गा गाँसेर साँस्कृतिक माला बनाइएको छ । “सायद प्रकृतिले पनि फुर्सदको बेला कुदेको थियो होला उनको आकृति” (रजनीको सुन्दरता)..झन सुरिलो र शर्मिलो बोलिले त चलेको आँदी पनि टक्क रोकिएला जस्तो हुने” । “कंक्रिटको जंगलले भरिएको काठमाडौं”, “करम फुट्गा, आज तौ साइत बिगरगवा”(छ्या ! कस्तो कुसाइत पर्यो)” यस्तै शब्दहरुको संगालो हो कचहरी । सासु ससुरा र दिदीप्रति समर्पित कृतिमा १५ वटा कथा छन्, जसमध्ये अधिकांश सफलताका, केही आंशिक सफलताका छन् भने कचहरी, अन्तरमनको संसार र मृत्युको पर्खाइमा तीनवटा बिफलताका कथा रहेका छन् । तथापि त्यसमा पनि गजब सन्देश दिएकी छन् । कथाहरु पठनीय, मननीय र संग्रहनीय छन् । समग्रमा कथाकार कल्पना पौडेल‘जज्ञिासु’ आख्यान विधाको उज्यालो नक्षेत्र हुन् । लेखकको साहित्यिक यात्रा एवं समग्र जीवन उज्वल रहोस् हार्दिक मंगलमय शुभकामना ।
देउखुरी गजल अभियान दाङले देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको सभाकक्ष रातोडाँडा लमहीमा आयोजना गरेको “कचहरी” कथा संग्रहको ‘विमर्श’ कार्यक्रममा प्रस्तुत गरिएको कृति समीक्ष ।
नीमबहादुर थापा, लमही नपा–३ देउखुरी दाङ

 

२०८१ बैशाख २३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।