एनआरएनएद्वारा बाँके रेडक्रसलाई रगत संकलन गर्ने घुम्ती बस हस्तान्तरण

|

नेपालगन्ज । रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाँके रेडक्रसलाई रगत संकलन गर्ने घुम्ती (वाहन) बस हस्तान्तरण गरेको छ ।

सघन बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनएले सातवटै प्रदेशमा एक-एकवटा रगत संकलन बस वितरण गर्ने योजना अनुरुप बाँके रेडक्रसलाई बस हस्तान्तरण गरिएको संघका अध्यक्ष डा. बद्री केसीले बताए ।

हालसम्म देशका पाँच वटा प्रदेशमा रेडक्रसमार्फत घुम्ती बस हस्तान्तरण गरिएको र बाँकी दुईवटा प्रदेशमा पनि छिट्टै घुम्ती बस हस्तान्तरण गरिने योजना रहेको उनले बताए । उनले नेपालको विकास र समृद्धिका लागि महासंघले हातेमालो गरेर अगाडि बढी रहेको बताए ।

नेपालगन्जमा शुक्रबार आयोजित एक कार्यक्रममा संघले उक्त बस नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दीन राईमार्फत बाँके रेडक्रसलाई बस हस्तान्तरण गरेको हो ।

कार्यक्रममा संघका उपाध्यक्ष रामशरण सिंखडाले यसअघि बागमती, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई एकरएक वटा घुम्ती रक्त संकलन बस उपलब्ध गराइएको बताए ।

उनले नेपालको विषम परिस्थितिमा सरकारले गर्न नसकेको काम पनि एनआरएनएले गरिरहेको भन्दै विदेशमा बस्ने नेपालीले देशप्रतिको मायाका कारण विभिन्न सामाजिक काममा साथ दिँदै आएको बताए ।

कार्यवाहक नगरप्रमुख राईले एनआरएनएका पदाधिकारीहरूलाई नेपालगञ्जको विकास र समृद्धिका लागि हातेमालो गरी अगाडि बढ्न आग्रह गरे । उनले घुम्ती रक्त संकलन बसले पश्चिम नेपालका जनताको उपचारका लागि रगत संकलनमा सहज पुर्‍याउने विश्वास व्यक्त गरे ।

रेडक्रसद्धारा संचालित ब्लड बैंकले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएर रगत संकलन गर्दै आएको छ। रेडक्रस बाँकेका सभापति गोर्वधन सिंह सम्झनाले रक्त संकलन बसले बिरामीलाई रगत संकलन गरी थप सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

२०८० माघ १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।