मलामी नपाएपछि कोरोना संक्रमितलाई सेनाको अन्तिम सलामी

|

असार ८ गते दैलेखका एक जना कोरोना संक्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गयो। दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृत्यु भएको थियो।

तर मृत्युपछि उनका आफन्तले उनलाई छुन पाएनन् ।स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधिमा संक्रमण नफैलिने गरी आफन्तले परम्पराअनुसारको अन्तिम संस्कार गर्न सक्ने उल्लेख छ।

काठमाडौंमा विद्युतीय शव दाह गृह भएकाले यहाँ कसैको कोरोनाका कारण मृत्यु भयो भने आफन्त पनि गएर त्यहीँ जलाउने गर्छन्। तर उपत्यकाबाहिर भने विद्युतीय शवदाह गृह नभएकाले अहिलेसम्म संक्रमित सबै शव गाड्ने गरिएको छ।

अरूमा कोरोनाको संक्रमण नहोस् भनेर नेपाली सेनाले संक्रमितको शव आफैं लिएर गाड्ने गरेको छ। दुल्लुका ती पुरूषको शव पनि असार ९ गते नेपाली सेनाले अस्पतालबाट निकालेर गिरिघाटको जंगलमा खाल्डो खनेर गाड्यो। यसरी शव व्यवस्थापन गर्न नेपाली सेनाले कोरोना संक्रमणबाट नेपालमा कसैको मृत्यु नहुँदा नै तालिम गरेको थियो।

तालिमप्राप्त ती सैनिकहरूले स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाएर शव पुरे। आफैंले गाडेको मान्छेलाई सैनिकहरू अन्तिम सलाम गर्छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे नागरिकको अन्तिम सम्मानका लागि सेनाले त्यसरी सलाम गर्ने गरेको बताए।

‘उसको घरपरिवार कोही नहुने भए। सुरूसुरूमा त शव बुझ्न कोही पनि आएनन्। गाउँनजिकै गाड्न पनि दिएनन्, घाटमा जलाउन पनि दिएनन्,’ पाण्डेले भने,‘यो त एकदमै भएन, बेबारिसे बनाएजस्तो भयो भन्ने हिसाबले नेपाली सेनाले आफैं पहलकदमी लिएर गरेको हो। मृत्यु हुनेलाई पनि सम्मान दिनपर्छ भनेर त्यो अन्तिम सलामी दिएको हो। ‘पशुपति आर्यघाटमा दागबत्ती दिँदा गरेजस्तो सम्मान दिएको हो ।

२०७७ असार ११, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।