बैजनाथ / बाल विवाह मुक्त वडा बनाउन बैजनाथ गाउँपालिकाका वडा नं.५ गुरुवा गाउँका अभिभावकहरु र किशोरीहरु सक्रिय भएका छन् ।
प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका वडा नं.५ को समन्वयमा भएको अभिभावक शिक्षा तालिममा बैजनाथ गाउँपालिका वडा नं. ५ गुरुवा गाउँका स्थानीय अभिभावकहरु सक्रिय भएर बाल विवाह बिरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
सो तालिमको सहजीकरण नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङ्गले गर्नु भएको थियोे । सो तालिममा सहभागी भएका अभिभावक लाहनु थारुले आफु सक्रिय भएर बाल विवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् । त्यसै गरि अर्का सहभागी रविना खड्का पनि आफनो वडालाई बाल विवाह मुक्त वडा बनाउन सक्रिय भई लाग्ने प्रतिबद्धता जनाईन् ।
अभिभावक र किशोरी क्लबका पदाधिकारीहरुले घरदैलो गरि स्टीकर टाँसेका छन् । स्थानीयहरुको प्रतिबद्धता समेत लिएका छन् । बैजनाथ गाउँपालिकाको वडा नं.५ लाई यही साउन ३१ गते बाल विवाह मुक्त वडा घोषणा गरिने स्याक नेपालका सुपरभाईजर बबिता शाहले जानकारी दिनुभयो ।

त्यसैगरि खजुरा गाउँपालिका वडा नं.१ राधापुरमा गठित प्रगतिशिल किशोरी क्लबका किशोरीहरु र अभिभावकहरुले पनि घरदैलो अभियान सन्चालन गरि भदौको दोश्रो हप्ता बाल विवाह मुक्त वडा गर्ने तयारी रहेको स्याक नेपालका सुपरभाईजर कल्पना आर्चायले जानकारी दिनुभयो ।






