१७६१ पिन्ट रक्तदानको ऐतिहासिक उपलब्धि, मानव सेवाको प्रेरणादायी यात्रा
नेपालगञ्ज । बाँकेमा स्वैच्छिक रक्तदान अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै आएको ब्लड डोनेशन ग्रुप (बाँके) ले आफ्नो ६औँ स्थापना दिवस मनाएको छ । सन् २०२० जुलाई २० मा स्थापना भएको समूहले हालसम्म १,७६१ पिन्ट रगत संकलन तथा व्यवस्थापन गरी हजारौं बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पु¥याएको जनाएको छ ।
स्थापनाकालदेखि नै समूहले आकस्मिक अवस्थामा रगत अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ २४ घण्टा सेवा दिँदै आएको छ ।

विभिन्न सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी, युवा स्वयंसेवक तथा रक्तदातासँग समन्वय गर्दै समूहले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै आवश्यक पर्दा तत्काल रक्तदाता उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।
स्थापना दिवसको अवसरमा समूहले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा पनि “रगत दान, जीवन दान“ भन्ने अभियानलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै रक्तदानप्रतिको जनचेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

एउटा आकस्मिक घटनाले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो । वि.सं. २०६७ साल वैशाख १९ गते भेरी अस्पतालमा एक महिलालाई आकस्मिक रूपमा रगत आवश्यक परेपछि सुनिलले पहिलो पटक रक्तदान गरेका थिए । त्यही दिनबाट सुरु भएको मानव सेवाको यात्रा आज हजारौं मानिसको जीवनसँग जोडिएको अभियानमा परिणत भएको छ ।
पछि सामाजिक सञ्जाल “नेपालगञ्ज ग्यालरी“ मा रगतको अभावसम्बन्धी पोस्ट देखेपछि उनले “किन रक्तदाताहरूलाई एउटै समूहमा नजोड्ने?“ भन्ने सोच बनाए । त्यसै विचारलाई व्यवहारमा उतार्दै साथीहरूको सहयोगमा २०७७ साल साउन ५ गते (२० जुलाई २०२०) ब्लड डोनेशन ग्रुप (बाँके) स्थापना भयो । यो अभियनामा सुरुका दिनमा महेश श्रेष्ठ र सन्तोष शाहले समन्वयकारी भुमिका खेलेका थिए । हाल यो ब्लड डोनेशन ग्रुप (बाँके) १० हजार बढी रक्तदाता सदस्य जोडिएका छन् ।

सानो उद्देश्यका साथ सुरु भएको अभियान आज बाँके जिल्लाकै भरपर्दो रक्तदाता सञ्जालका रूपमा स्थापित भएको छ । समूहले सबै रक्तसमूहका रक्तदातालाई समन्वय गर्दै आकस्मिक अवस्थामा बिरामीलाई समयमै रगत उपलब्ध गराउँदै आएको छ ।
सुनिल परियार स्वयंले हालसम्म ३५ पटक रक्तदान गरिसकेका छन् । उनले आफू मात्र रक्तदाता बनेर नरोकी सयौं युवालाई पनि रक्तदान अभियानमा जोड्न सफल भएका छन् । समूहका एक सक्रिय सदस्यले २१ पटक रक्तदान गरिसकेको जानकारी पनि उनले दिएका छन् ।
सुनिल परियार भन्छन्, “रक्तदान गर्न नसके पनि आवश्यक पर्दा रक्तदाता खोजिदिनु पनि ठूलो सेवा हो। मानव जीवन बचाउनु नै हाम्रो अभियान हो।“ उनका अनुसार ब्लड डोनेशन ग्रुप (बाँके) अहिले केवल एउटा समूह नभई मानवताको अभियान बनेको छ । “आफूले दिन नसके पनि अरूबाट भए पनि सेवा गरौँ“ भन्ने मूल मन्त्रका साथ समूहले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अभियानका रूपमा विस्तार गरिरहेको छ ।
मानव सेवाप्रतिको समर्पण र उल्लेखनीय योगदानका कारण सुनिल परियार विभिन्न सामाजिक संस्थाबाट सम्मानित भइसकेका छन् । उनका अनुसार आगामी दिनमा पनि रगतको अभावका कारण कुनै पनि बिरामीले उपचार नपाउने अवस्था आउन नदिन समूहले आफ्नो अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने योजना पनि रहेको छ । ब्लड डोनेशन ग्रुप (बाँके) को ६ वर्षे यात्रा केवल संख्याको उपलब्धि होइन, यो मानवता, सेवा, सहयोग र जीवन बचाउने अभियानको प्रेरणादायी उदाहरण बनेको छ ।
संघर्षबाट सेवासम्मः सुनिल परियारको प्रेरणादायी यात्रा
समाजमा केही व्यक्तिहरू यस्ता हुन्छन्, जसले आफ्नो व्यक्तिगत सफलता मात्र होइन, अरूको जीवन बचाउने अभियानलाई पनि जीवनको उद्देश्य बनाउँछन् । बाँकेका सुनिल परियार त्यस्तै प्रेरणादायी व्यक्तित्व हुन् । बाँके जिल्लामा कसैलाई रगतको आवश्यक्ता परेमा सम्झिने नाम हो सुनिल परियार । व्यवसाय, सामाजिक सेवा र मानवताको भावनालाई सँगसँगै अघि बढाउँदै आएका उनी आज ब्लड डोनेशन ग्रुप (बाँके) का संस्थापकका रूपमा परिचित छन् ।
सुनिल परियारको जन्म बुवा दलबहादुर दर्जी र आमा कमला दर्जीको कोखबाट भएको हो। तीन दाजुभाइमध्ये जेठा छोरा रहेका उनी हाल नेपालगञ्ज उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै मेहनती, मिलनसार र समाजसेवाप्रति रुचि राख्ने सुनिलले संघर्षलाई अवसरमा बदल्ने उदाहरण प्रस्तुत गरेका छन् ।
वि.सं. २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले आफ्नो व्यावसायिक यात्रा सुरु गरे । सुरुवाती चरणमा कान्तिपुर दैनिकको मार्केटिङ विभागमा कार्य गर्दै सञ्चार, बजार व्यवस्थापन तथा जनसम्पर्क क्षेत्रमा अनुभव बटुले। त्यसपछि करिब दुई वर्ष लुम्बिनी एक्सप्रेस कुरियरमा कार्यरत रहँदा सेवा व्यवस्थापन, ग्राहक सेवा र कार्यालय सञ्चालनका विविध पक्षमा दक्षता हासिल गरे ।
वि.सं. २०६८ सालदेखि उनले मालपोत लेखापढी व्यवसायलाई आफ्नो मुख्य पेशाका रूपमा अघि बढाए । विगत करिब १५ वर्षदेखि यस क्षेत्रमा निरन्तर सक्रिय रहँदै उनी जग्गासम्बन्धी कानुनी प्रक्रिया, लिखत व्यवस्थापन तथा सेवाग्राहीलाई सहज, छिटो र विश्वासिलो सेवा प्रदान गर्दै आएका छन् । इमानदारी र सेवामुखी कार्यशैलीका कारण उनी यस क्षेत्रमा विश्वासिलो व्यक्तिका रूपमा स्थापित भएका छन् ।
शैक्षिक रूपमा उनले व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एम.कम.) उत्तीर्ण गरेका छन् । शिक्षा, अनुभव र व्यावसायिक दक्षतालाई समाज सेवासँग जोड्दै उनले आफ्नो पहिचान अझ फराकिलो बनाएका छन् । तर सुनिल परियारको परिचय यतिमै सीमित छैन । एक दिन आकस्मिक रूपमा रगत आवश्यक परेका बिरामीका लागि रक्तदाता खोज्ने क्रममा उनले समाजमा रक्तदानको आवश्यकता गहिरोसँग महसुस गरे । यही अनुभवले उनलाई रक्तदान अभियानमा सक्रिय बनायो। त्यसपछि सामाजिक सञ्जालमार्फत समान सोच भएका युवाहरूलाई एकजुट गर्दै २० जुलाई २०२० (वि.सं. २०७७ साउन ५ गते) ब्लड डोनेशन ग्रुप (बाँके) स्थापना गरे ।

आज यो समूह बाँके जिल्लामा रक्तदान अभियानको भरपर्दो नाम बनेको छ। समूहले हालसम्म १,७६१ पिन्टभन्दा बढी रगत उपलब्ध गराएर हजारौं बिरामीको उपचारमा सहयोग पु¥याएको छ । सुनिल स्वयंले ५५ पटक रक्तदान गरिसकेका छन् भने सयौं युवालाई पनि रक्तदान अभियानमा जोड्न सफल भएका छन् ।
उनी भन्छन्, “रक्तदान गर्न नसके पनि आवश्यक पर्दा रक्तदाता खोजिदिनु पनि ठूलो सेवा हो । एउटा सानो प्रयासले कसैको अमूल्य जीवन बचाउन सकिन्छ ।“ सुनिल परियारका लागि सामाजिक सेवा कुनै औपचारिक कार्यक्रम होइन, जीवनको अभिन्न हिस्सा हो। व्यवसायसँगै समाजप्रतिको उत्तरदायित्वलाई समान रूपमा निर्वाह गर्दै आएका उनी मानवताको सेवामा निरन्तर समर्पित छन् । उनको योगदानको कदर गर्दै विभिन्न सामाजिक संस्थाहरूले सम्मानसमेत गरिसकेका छन् ।
संघर्षबाट सुरु भएको सुनिल परियारको यात्रा आज सेवा, समर्पण र मानवताको उदाहरण बनेको छ । उनको जीवनले देखाएको छ—सफलता केवल व्यक्तिगत उपलब्धिमा होइन, अरूको जीवनमा आशा जगाउन सक्नुमा पनि हुन्छ ।






