युवा रेडक्रसकर्मी रहमान रेडक्रसको केन्द्रीय तदर्थ समिति सदस्य बने

|

सुर्खेत । विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा समर्पित रहँदै आएका मोहम्मद आयतुल्ला रहमान नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा गठन गरेको ९ सदस्यीय तदर्थ समितिमा रहमान सदस्यका रूपमा चयन भएका हुन्।

सुर्खेत जिल्लाको मेहेलकुनाबाट रेडक्रस अभियानमा आबद्ध भएका रहमानले वि.सं. २०६३ मा विद्यालयस्तरीय जुनियर रेडक्रस सर्कलबाट आफ्नो यात्रा सुरु गरेका थिए। त्यसयता उनले जुनियर तथा युवा रेडक्रस सर्कलको नेतृत्व, उपशाखा व्यवस्थापन तथा स्वयंसेवक परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

नेपाल रेडक्रस सोसाइटी घुमखहरे उपशाखाका पूर्व उपसभापति समेत रहेका रहमान हाल पनि उपशाखाको कार्यसमिति सदस्यका रूपमा सक्रिय छन्। विपद् व्यवस्थापन, रक्तदान अभियान, जनचेतना कार्यक्रम तथा मानवीय सेवामा उनको योगदान उल्लेखनीय मानिन्छ।

लगभग दुई दशक लामो रेडक्रस यात्रापछि केन्द्रीय तदर्थ समितिमा उनको मनोनयनले रेडक्रसकर्मी र स्वयंसेवकहरूमा उत्साह थपेको छ। विद्यार्थी जीवनबाट सुरु भएको उनको सेवायात्रा आज केन्द्रीय नेतृत्वसम्म पुग्नु निरन्तर मेहनत, प्रतिबद्धता र सेवाभावको प्रेरणादायी उदाहरण बनेको छ। उनको यो उपलब्धिलाई निरन्तर सेवा, समर्पण र नेतृत्वको सम्मानका रूपमा हेरिएको छ।

नवगठित तदर्थ समितिमा महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य तथा सदस्यहरूमा बसन्तकुमार श्रेष्ठ, अबिस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउद (बोहरा) रहेका छन्।

२०८३ जेष्ठ २७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।