बाँकेको शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै विकास बहादुर सिंह सम्मानित
|
नेपालगञ्ज / बाँकेको संस्थागत विद्यालय क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै गोल्डेन एबिसी बाँके एकेडेमीका प्रबन्ध निर्देशक विकास बहादुर सिंह सम्मानित हुनुभएको छ।
मुस्लिम समुदायको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिको वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजित विशेष समारोहमा उहाँलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्ट तथा समितिका अध्यक्ष गुलाम हुसैन (फिरोज) हलवाई ले संयुक्त रूपमा सिंहलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। समारोहमा वक्ताहरूले सिंहले लामो समयदेखि बाँके जिल्लाको शैक्षिक विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा संस्थागत विद्यालयहरूको सुदृढीकरणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए।
नगर प्रमुख बिष्टले शिक्षा क्षेत्रको विकासमा सिंहजस्ता व्यक्तित्वहरूको निरन्तर सक्रियताले नेपालगञ्ज तथा समग्र बाँके जिल्लाको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। त्यसैगरी समितिका अध्यक्ष हलवाईले समुदाय, जातजाति वा धर्मको भेदभाव नगरी सबै बालबालिकालाई शिक्षाको पहुँच विस्तार गर्न सिंहले पुर्याएको योगदान अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
उक्त कार्यक्रममा चिकित्सा क्षेत्रमा योगदान पुर्याएको भन्दै डा. हुस्नेआरा हक तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै झलक गैरे लाई समेत सम्मान गरिएको थियो।
केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिको वार्षिक साधारण सभामा मुस्लिम समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सभामा समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। साथै समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्य पनि गरिएको आयोजकले जनाएको छ।