वैशाख १५ बाट विद्यार्थी भर्ना सुरु, २१ गतेदेखि पठनपाठन

|

काठमाडौं / शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना कहिलेदेखि हुने भन्ने अन्योलता अन्त्य गर्दै सोही मितिबाट भर्ना सुरु हुने स्पष्ट पारेको हो।

केन्द्रद्वारा जारी सूचनाअनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन हुने र वैशाख २१ गतेबाट पठनपाठन सुरु गरिने उल्लेख गरिएको छ।

यसअघि हरेक वर्ष १ वैशाखबाट शैक्षिक सत्र सुरु हुने गरेको भए पनि यस वर्ष भने सरकारले १५ वैशाखबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको हो।

सूचनामा वैशाख २ गतेदेखि नै प्रवर्धनात्मक तथा रचनात्मक शैक्षिक गतिविधि सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ। साथै, १५ वैशाखअघि नै शैक्षिक सत्रका कार्ययोजना, वार्षिक कार्यतालिका, शैक्षणिक योजना तथा विद्यालय सुधार योजना निर्माण र अद्यावधिक गर्न भनिएको छ।

त्यसैगरी शिक्षकहरूको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि आवश्यक योजना निर्माण गर्न पनि केन्द्रले आग्रह गरेको छ।

सरकारले शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सोही अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

२०८२ चैत्र २६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।