ठाकुरबाबामा दश वर्षे शिक्षा योजना निर्माण कार्यशाला शुरु

|

भूरिगाउँ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सम्बन्धी सोमबारदेखि तीन दिने कार्यशाला शुरु भएको छ ।

ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको सहकार्यमा नगरभित्रका शिक्षासँग सम्बन्धित क्षेत्रहरुका व्यक्तिको उपस्थितिमा उक्त कार्यशाला शुरु भएको हो ।

कार्यशालाको उद्घाटनमा बोल्दै प्रमुख घननारायण श्रेष्ठले नगर क्षेत्रको शिक्षा सुधारका लागि उल्लेख्य लगानी गरिएको बताउनुभयो । उहाँले संघ, प्रदेश तथा अन्य स्रोतबाट प्राप्त हुने बाहेक नगरको आफ्नो समानीकरण, समपुरक बजेटबाट शिक्षामा लगानी गरिएको प्रष्ट पार्नुभयो ।

उहाँले ठाकुरबाबामा शिक्षा क्षेत्रको बिकासका लागि बिभिन्न नीति नियम तथा निर्देशिकाहरु निर्माण गरिएको बताउनुभयो । यहाँको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन बिभिन्न कार्यक्रमहरु तथा समन्वय गरिएको उहाँले बताउनुभयो । यसका साथै उहाँले कार्यशालाले सबै पक्षलाई समेटी नमूना दश वर्षे कार्य योजना निर्माण गर्न सुझाव दिनुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले नगरपालिकाको शिक्षाको बिकास तथा सुधारका लागि बिद्यालय, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बिभिन्न संघ संगठन लगायतसंग नियमित समन्वय सहकार्य आवश्यक नीति नियमहरुका बारेमा छलफल गरिरहेको बताउनुभयो ।

कार्यशालामा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कृष्णा कुष्मा थारु, वडा नं १ का वडाअध्यक्ष श्यामलाल थारु, नेकपा एमाले नगर अध्यक्ष जीवन बहादुर शाही, नेपाली कांग्रेस नगरसभापति पदम बहादुर खड्का, नेकपा माओबादीका चित्र प्रसाद खनाल, प्लानका शिक्षा बिज्ञ बेद डाँगी, नेपाल शिक्षक महासंघ अध्यक्ष बामदेव ढकाल, नेपाल शिक्षक संघका खडक प्रसाद उपाध्याय, नेपाल राष्टिय शिक्षक संगठनका कलम बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

कार्यशालामा बिगत ५ वर्षमा ठाकुरबाबा नगरपालिकाभित्र बिद्यार्थीको उपस्थिति लगायत शिक्षाको अवस्था, शैक्षिक उपलब्धीका बारेमा छलफल गरिएको छ । ठाकुरबाबाको दश वर्षे नगर शिक्षा योजना शन्दर्भमा तीन वटा पालिका छनौट गरिएको, शिक्षा क्षेत्र योजना (सन २०२१ देखि २०३०), राष्ट्रिय शिक्षा नीति २०७६, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, नगरको २० वर्षे गरुयोजना, स्थानीय सरकार संचालन ऐन २०७४ र नगर शिक्षा योजनाका लागि २ वटा अभिमुखिकरण कार्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ ।

तीन दिनसम्म चल्ने कार्यशालामा पहिलो दिन दश वर्षे योजनाको तयारी प्राबिधिक बिषयगत समिति गठन, योजना तर्जुमासंग सम्बन्धि अवधारणा, स्थानीय परिवेशको आवश्यकता पहिचान गरी तीन वटा प्रस्तुती गरिएको थियो ।

प्रस्तुतिकरणमा सहभागी सरोकारवालाहरुबाट आएका सुझाव एवं नविनतम कार्ययोजना प्राप्त भएको र मस्यौदाको अन्तम रुप दिनका लागि पुन ः १० गतेदेखि १२ सम्म कार्यशाला गरि अन्तिम रुप दिने कार्ययोजना रहेको छ । कार्यक्रम शिक्षा प्रमुख शिक्षा कुमारी भण्डारीले संचालन गर्नुभएको थियो ।

२०७८ फाल्गुन ९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।