नैतिक शिक्षाको लागि कालीमाई मन्दिरमा श्रीरामकथा वाचन हुने

|

नेपालगन्ज /  नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ८ एकलैनीको कालीमाई मन्दिरमा श्रीरामकथा वाचन हुने भएको छ । मंगलबारदेखि सुरु हुने श्रीरामकथा सत्संगमा भारतको विन्द्रावनका आचार्य श्री श्री पुरुषोत्तम उपाध्यायले कथा वाचन गर्ने कार्यक्रम रहेको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कसौंधन वैश्य समाज बाँके, युवा मञ्च, महिला मञ्च तथा हलचल फाउण्डेशन नेपालगन्जको संयुक्त आयोजनामा हुने सत्संग पौष २० गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कसौंधन वैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल वैश्यले बताए ।

मंगलबार बिहान ७ बजे कालीमाईको मन्दिर नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडिबाट शोभायात्रा निस्किएर त्रिभुवन चौक, त्रिवेणीमोड, बागेश्वरी मन्दिर, घरवारीटोल, धम्बोझी चौक हुँदै सेतुविक चौकबाट मन्दिरमा पुग्ने कार्यक्रम रहेको कसौंधन वैश्य समाजका महासचिव सत्य नारायण कसौंधनले जानकारी दिए ।

बिहान विशेष पूजा आजा र दिउँसो ३ बजेदेखि ६ बजे श्रीरामको कथावाचन गर्ने कार्यक्रम रहेको युवा मञ्चका अध्यक्ष आदित्य कुमार गुप्ताले बताए । कथावाचन तथा शोभायात्रामा उपस्थितिका लागि आयोजकले श्रद्धालु भक्तजनमा सहभागिताको लागी अनुरोध समेत गरेको छ ।

२०७८ पुष १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।