नेपालगन्ज उपमहानगरपालिकाका थप ७ वटा वडा बालबिवाह मुक्त वडा घोषणा

|

नेपालगन्ज  / नेपालगन्ज उपमहानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रम गरेर एकसाथ वडा नम्बर ३, ४, ९, ११, १८, २० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुुभयो।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गरिन् ।

सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगन्ज बनाउन मद्दत पुग्ने बताइन् । घोषणा अन्तिम नहुने भन्दै उनले बाल बिवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले फागुन मसान्तभित्र बाल विवाह मुक्त घोषणा गर्ने स्थानीय तहलाई बैठक भत्ता र प्रशासनिक खर्च कटाएर समन्वय समितिले १० लाख रुपियाँ प्रोत्साहन बापत उपलब्ध गराउने बताए । प्रमुख जिल्ला अधिकारी खत्रीले घोषणाको पूर्ण कार्यान्वयनमा जनप्रतिनिधी, कर्मचारी र स्थानीय अगुवाको निरन्तर ध्यान रहनुपर्ने सुझाव दिए ।

२०७८ पुष १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।