नेपालगन्ज / नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनाएको छ । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले युनियन बाँकेले उक्त कोष स्थापना गरेको थियो । युनियनले स्थापना गरेपनि उक्त कोषले जिल्लाका सबै पत्रकारलाई समेट्ने युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताएका छन् ।
उक्त कोषमा सुरुमा युनियनका जिल्ला कार्यसमिति , पदाधिकारी आफैले स्वःस्फूर्त रुपमा रकम जम्मा गरेर अन्य ब्यक्ति , संस्था तथा निकायलाई पनि आग्रह गर्ने तयारीमा रहेको ओलीले बताए ।
युनियन बाँकेका सचिव विजय मल्लले कल्याण कोषमा आवश्यक सहयोग गर्न सबैलाई आब्हान गरिएको बताए । कल्याण कोषलाई अगाडी बढाउन युनियन बाँकेका अध्यक्ष ओलीको नेतृत्वमा उपाध्यक्ष समिरमान श्रेष्ठ , सचिव विजय मल्ल , कोषाध्यक्ष मधु पौडेल , सहसचिव लक्ष्मी चौधरी लगायत सम्पूर्ण कार्यसमिति सदस्य सक्रिय भएर लाग्ने निर्णय यसअघि नै भएको उनले जानकारी दिए ।






