
मोहम्मद आयतुल्ला रहमान / बाँच्नका लागी मानव जीवनमा सबै भन्दा पहिलो र आधारभूत आवश्यकता जिविकोपार्जन को रुपमा रहेको हुन्छ, गास, बास र कपास । यहि आवश्यकतालाई आधार मानेर गाँउ घरमा विपन्न परिवारलाई पहिचान गरेर जिविकोपार्जनमा दाङ्ग जिल्लाको गढवा र राजपुरका गाउँ पालिकाका बासिन्दाहरुलाई रेडक्रसको साथ मिलेको छ । सन् २०१७ अप्रिल देखि सन् २०२१ डिसेम्बर सम्मको ५ बर्षको परियोजनामा डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी दाङ्ग शाखाले समुदाय उत्थानशिलतामा अभिबृद्धि (इन्कोर) परियोजना मार्फत दाङको देउखुरी स्थित गढवा र राजपुर गाउँपालिकामा विपद् जोखिम कार्यक्रम अन्र्तगत विपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, विपन्न समुदायमा जिविकोपार्जनका लागि आर्थिक सहयोग, खानेपानी सरसफाई तथा स्वच्छताका गतिविधि, आकस्मीक स्वास्थ्य सेवा लगायतका कार्यहरु गर्दै आएको छ ।
जिविकोपार्जन कार्यक्रम अन्र्तगत समुदायमा विपन्न अवस्थामा रहेका मानिसहरुलाई छनोट गरी उनीहरुलाई सिपमूलक तालिम दिएर जिविकोपार्जनका लागि आर्थिक सहयोग २५ हजारको दरले ७७९ घर परिवार लाई नगद अनुदान सहयोग गरेको छ, जस्ले गर्दा संकटासन्न, नाजुक र विपन्न अवस्थामा रहेका व्यक्तिहरुले भैसि पालन, बाख्रा पालन, साना किराना खुद्रा पसल, पोल्ट्री फर्म, बंगुर पालन, तरकारी खेती लगायतका व्यवसाय गर्न सक्ने र आफ्नो जीवनलाई सहज बनाउने उद्देश्य रहेको समुदाय उत्थानशिलता अभिबृद्धि (इन्कोर) परियोजना अधिकृत जगत तामाङले बताए ।
जिविकोपार्जनका लागि अनुदान आर्थिक सहयोग पाएका विपन्न परिवारहरुमध्ये अधिकांशले बाख्रा पालन, साना खुद्रा किराना पसल, पोल्ट्री फर्म, बंगुर पालन, तरकारी खेती लगायतका व्यवसाय गरीरहेका छन् । पहिले कुनै पनि व्यवसाय नरहेको र एकल महिला भएर छनोटमा परेर अनुदान पाएपछि गाउँमै किराना खुद्रा पसल शुरुवात गरि यहि पसललाई व्यवसायीक रुपमा अंगाली रहेकी मिना बि.क. दाङ जिल्ला राजपुर गाउँपालिका वडा नं. ४, दुलैयामा बसोबास गर्दै आइरहेकी छिन् । आफ्नो किराना खुद्रा पसल शुरु नगर्नु भन्दा पहिले दैनिकि गुजरा चलाउनको लागी बुटबलमा गएर ज्यामी, लेवरको काम गर्नु परेको दुःख व्यक्त गर्दै अहिले रेडक्रस लाई धन्यवाद दिदै २५ हजार बाट शुरुवात गरेको खुद्रा किराना पसलको व्यवसाय अहिले १ लाख भन्दा बढी लगानी रहेको र २०० रुपैया दैनिक बचत गर्ने गरेको बताईन् । १ छोरा र १ छोरी रहेकी मिनाले अहिले बाहिर कतै पनि काम गर्न जानु नपरेको र घरमै बसेर आफ्नो बच्चाहरु छोरालाई बोर्डिङ् स्कुल कक्षा ४ मा र छोरी लाई कक्षा १० मा पढाईरहेको, दैनिकि पहिलेको भन्दा धेरै राम्रो र सहज भईरहेको बताउछिन् । हामी जस्तो गरीब, दुःखी लाई रेडक्रसले सहयोग गर्दा जिन्दगी नै बदलेको भन्दै खुशी साथ दिनहरु ीबतिरहेको बताईन् ।
अनुदान पाउने मध्ये एक युवा हुन्, चन्द्र प्रकाश चौधरी, उनी गढवा गाँउपालिका वडा न. २, महादेवा, देउखुरी, दाङ्गमा बसोबास गर्दै आइरहेका छन् । पहिले चौधरी बाहिरका जिल्लाहरुमा गएर ज्यामी र कार्पेन्टरको काम गर्न कहिले काठमाडौँ, कहिले भैरहवा र कहिले नेपालगंज समेत पुग्ने गरेको बताउँछन् । घर खर्च चलाउन नाजुक अवस्थामा रहेका चौधरी ३ बर्ष मलेसियामा समेत पुगेर काम गरको बताए ।
केही पनि नभएको गरीब, दुखी, विपन्न लाई केही गरुन भनेर रेडक्रसले २५ हजारको दरले व्यवसाय गर्न अनुदान दिए पछि गुजारा चलाउन सहज भएको चौधरी बताउछन् । अहिले कुखुराको २ वटा फार्म रहेको र सँग सँगै ३,४ ओटा बंगुर पनि पालिरहेकोले मासिक राम्रै कमाई भइरहेको बताए । मलेशियामा हुदा मासिक रकम ३०, ३५ हजारको कमाईले भन्दा लगनशिल भएर स्वदेशमै काम गर्दा विदेशको जति स्वदेश मै कमाईने दावी समेत गरे । बाहिर जानु नपरेको र आप्mनो परीवारसँग स्वदेश मै बसेर व्यवसाय गरीरहेको भन्दै रेडक्रसलाई खुशि व्यक्त गर्दै प्रफुल्ल थिए चौधरी ।
अनुदान पाउने मध्ये अर्कि हुन्, बालमति चौधरी, उनी गढवा गाँउपालिका वडा न. २, डाँडा गाँउ, महादेवा, देउखुरी, दाङमा बसोबास गर्दै आइरहेकी छिन् । व्यवसाय गर्नकोलागी केहि पनि नभएको, पहिला दैनिक खान पनि धाउ धाउ पर्ने बालमतिले रेडक्रसको २५ हजार अनुदान पाएपछि व्यवसाय गर्नको लागी उर्जा मिलेको बताउछिन्, पहिले अरुको घरमा काम गर्दै आइरहेकी बालमतिले रेडक्रसबाट पाएको अनुदानले बंगुर पालन गर्ने योजना बनाएकी उनी शुरुमा ३ वटा बंगुर बाट व्यवसाय शुरुवात गरेको बताउछिन् । बंगुर व्यवसाय बाट नै ३७ हजारको बंगुर बेचेर अहिले व्यवसाय बढाउदै गरेको र बंगुर फार्म मा ८ वटा बंगुर रहेको बताईन् । ४ जनाको संख्यामा रहेको बालमति परिवार पहिलाको भन्दा अहिले गुजारा चलाउन सहज भएको बताउछिन् । छोरा, छोरीलाई पढाउन पनि सहज भएको र अहिले आफ्नै व्यवसायी शुरुवात गरेपछि अरुको घरमा काम गर्न जानु नपरेको र बालमतीको श्रीमानले पनि हरेक काममा साथ दिइहेको बताईन् । अहिले आफ्नै व्यवसाय भएको, रेडक्रसले अरुको घरमा काम गर्न बाट रोकेको भन्दै खुशि व्यक्त गरीन्, बालमति ।
अधिकांश संघ संस्थाहरुले दिगो विकासका लक्ष्यहरूमा काम गरीरहेका छन् र दिगो विकासका लक्ष्यहरूमा पहिलो लक्ष्य रहेको छ, गरिबिको अन्त्य । नेपालको सन्दर्भमा बहुआयामिक गरिबी सूचकांक – राष्ट्रिय योजना आयोग २०७८ अनुसार १७.४ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि रहेका छन् । लाखौँ युवाहरुको श्रम विदेशि भूमिमा बेचिएको छ, विदेशबाट फर्केर आफ्नै स्वदेशमा केहि गर्छु, मेहनत गर्छु भनेर आएकाहरुलाई नेपाल सरकारले पनि व्यवसाय गर्न चाहने युवाहरुलाई ध्यान दिन सकियो भने दैनिक सैयौँको संख्यामा विदेशिने युवाहरु कम हुने थियो कि !
मिना बि.क., चन्द्र प्रकाश चौधरी र बालमति चौधरी सफल उद्यमिका एक पात्र मात्र हुन्, उनीहरु जस्ता उद्यमि बन्न चाहना भएका कैयौँ बेरोजगार युवा, एकल महिलाहरु उद्यमि बन्नका लागी पर्खाइमा छन् । त्यस्ता व्यक्तिहरुलाई रेडक्रसले पहिचान गरे जस्तै, स्थानीय सरकार लगायत विभिन्न संघ संस्थाहरुले ध्यान दिए, विभिन्न कार्यक्रम मार्फत दिगो विकासका लक्ष्यहरूमा गरिबिको अन्त्य पहिलो लक्ष्यलाई सफल पार्न सकिन्छ ।
नेपाल एक कृषि प्रधान देशमा सबै नागरीकलाई उद्यमशिल बनाउन सकियो भने केहि हद सम्म गरीबिको दर घट्थ्यो कि ! युवा उद्यमशीलताले युवाहरूलाई उनीहरूको जीवनभर आर्थिक रूपमा फस्टाउन आवश्यक सीप र अनुभवहरू प्रदान गर्दछ, जस्ले आफ्नो देशलाई समृद्धिमा समेत मद्दत गर्दछ । जस्कालागी नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाको ध्यान जान जरुरी देखिन्छ । नेपाल सरकारले बनाएका युवा मुखि नीति नियमहरुलाई कार्यान्वयनको पाटोमा ध्यान दिन जरुरी देखिन्छ, नीति नियमहरुलाई कार्यान्वयनमा जोड दिनका लागी स्थानीय तह, विभिन्न संचार माध्यम लगायत विभिन्न संघ संस्थाहरुमा दबाब दिनका लागी जरुरी देखिन्छ । जुन तपाई हामी सबै नागरीकको जिम्मेवारी र कर्तव्य पनि हो ।