
काठमाडौं । विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच सम्झौता भएको हो ।
विश्व बैंकले ७ करोड ५ लाख अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।
यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद,आपूर्ति र वितरणलाई सघाउनेछ।
बाँकी रकमले कोभिड–१९ संक्रमणको परीक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिने विश्व बैंकले जनाएको छ ।
कोभिड–१९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवद्र्धधन गर्ने जनाइएको छ ।
गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनामै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्त्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।
कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जीवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न निकै महत्त्वपूर्ण रहेको जर्भोसले बताए ।