
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रू १० लाख हस्तान्तरण गरेको छ ।
रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रू १७ लाख सहयोग गर्ने आश्वासन यस अघि दिएको थियो ।
पहिलो चरणमा रू १० लाख प्रदान गरेको हो, नगरपालिकाको तर्फबाट रू १५ लाख, जनप्रतिनिधिको तर्फबाट रू एक लाख र कर्मचारीको तर्फबाट रू एक लाख गरी रू १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रू १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताउनुभयो ।
चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उहाँको विश्वास छ ।
प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रू सात लाख पनि छिट्टै हस्तान्तरण गरिने बताउनुभयो ।