गौतमबुद्ध विमानस्थल निर्माणको निम्ति एडीबीले दियो पौने १८ अर्ब ऋण

|

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ ।

अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपालका लागि अफिसर इन्चार्ज रुडी लुसी डेन्डरिक्स भान डेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गत विमानस्थल क्षमता अभिवृद्धि परियोजनामा यो रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा नदी र बाढीजन्य प्रकोप नियन्त्रण परियोजनाका लागि समेत एडिबीबाट ४ करोड अमेरिकी डलर (पौने ५ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण र १ करोड अमेरिकी डलर -१ अर्ब १८ करोड रुपैयाँ) बराबरको अनुदानका लागि सम्झौता भएको छ ।

अर्थ मन्त्रालयका अनुसार गौतमबुद्ध विमानस्थलका लागि प्राप्त हुने यो रकम विमानस्थलको क्षमता अभिवृद्धिमा खर्च हुने छ ।
जसमा दोस्रो टर्मिनल विल्डिङ निर्माणको काम पर्छ ।

नदि र बाढीजन्य जोखिम नियन्त्रण परियोजनाका लागि आएको रकम भने बाढी नियन्त्रणका लागि आवश्यक संरचना निर्माण, बाढीको पूर्वसूचना दिने संयन्त्र निर्माण र क्षति नियन्त्रणमा खर्च गरिने भएको छ ।

यो ऋण सम्झौतामा हस्ताक्षर भएको ९० दिन भित्र कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

२०७७ पुष ८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।