१ अर्ब नाध्यो आइफोन प्रयोगकर्ताको संख्या

|

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले आइफोन बिक्रीको आँकडामा नयाँ कोशेढुङ्गा पार गरेको छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ ।

गत महिना अर्थात् आइफोन १२ सिरिज लञ्च हुनु अगाडि नै विश्वमा आइफोन प्रयोगकर्ताको संख्याले १ अर्बको सीमा पार गरेको हो ।

यो वर्ष सन् २०२० समाप्त नहुँदै अघिल्लो महिना सेप्टेम्बरमै आइफोन बिक्रीको संख्याले १ अर्बको कीर्तिमान कायम गर्न सफल भएको हो ।

यद्यपि प्रिमियम अर्थात महँगो फोनको रुपमा रहेको आइफोनका प्रयोगकर्ताको संख्या विश्वभर समान भने छैन ।

विकसित देशहरुमा आइफोन प्रयोगकर्ताको संख्या उच्च छ भने अति कम विकसित तथा विकासशील देशहरुमा आइफोन प्रयोगकर्ता कम छन् ।

भौगोलिक क्षेत्र अन्तर्गत युरोप र अमेरिकामा आइफोन प्रयोगकर्ताको संख्या अत्यधिक छ भने एसियाका विकसित तथा विकासशीललगायतका सबैजसो देशमा आइफोनको तुलनामा अन्य स्मार्टफोन प्रयोगकर्ता धेरै छन् ।

एप्पलले सन् २००८ मा पहिलोपटक आइफोन बजारमा ल्याएको थियो, एप्पलको पहिलो आइफोन सुरुकै वर्षमा एक करोड १० लाख गोटा बिक्री भएको थियो ।

त्यसपछि एप्पलले पछाडि फर्किनु परेन र सन् २०१४ सम्म ४४ करोड २० लाख थान आइफोन बेचेको थियो ।

सन् २०१५ सम्ममा ५६ करोड ९० लाख गोटा, २०१६ सम्ममा ७१ करोड, २०१७ सम्म ८१ करोड ४० लाख र सन् २०१८ सम्म ८८ करोड ८० लाखवटा आइफोन बिक्री भए ।

यसबाट उच्च मूल्यका बाबजुत पनि प्रयोगकर्तामा आइफोनप्रति ठूलो आकर्षण रहेको देखिन्छ ।

२०७७ कार्तिक १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।