‘बामदेव कार्ड’ को हदम्याद- वैशाख २० सम्म !

|

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव बुधबार साँझको सचिवालय बैठकमा राख्दा नेताहरु छक्क परे । बामदेवलगायत सचिवलायका अन्य नेतालाई लागेको छ, ओलीले ‘कार्ड’ खेलेका हुन्, वामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका होइनन् ।

के प्रधानमन्त्री ओली साँच्चै नै कोरोना रोकथाम भएपछि गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छन् त ? यस सम्बन्धमा प्रश्न गर्दा नेकपाका एक नेताले भने, ‘ढाँटको निम्तो खाई पत्याउनू !’

नेकपाको सचिवालय बैठक बैशाख २० गते शनिबार बस्दैछ । अध्यक्ष ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका हुन् कि हैनन् भन्ने छिनोफानो शनिबारको बैठकबाटै हुने नेकपा नेताहरुको भनाइ छ । नाम सार्वजनिक गर्न नचाहने एक नेताले भने, ‘बामदेवलाई प्रधानमन्त्री बनाउनै चाहेको हो भने प्रधानमन्त्री ओलीका तर्फबाट शनिबारको बैठकमा ठोस प्रस्ताव पक्कै आउला । प्रतिनिधिसभामा चुनाव हारेको व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउने भन्ने स्पष्ट खाकासहितको प्रस्ताव प्रधानमन्त्रीबाट आयो भने उहाँले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेकै हो भन्ने शनिबारै स्पष्ट भइहाल्छ ।’

माधव नेपालनिकट नेकपा नेताहरुका अनुसार प्रधानमन्त्रीले खेल्न खोजेको ‘बामदेव कार्ड’ को हदम्याद वैशाख २० सम्म छ । प्रधानमन्त्री ओलीले बामदेवबारे शनिबारको बैठकमा ठोस प्रस्ताव नल्याएमा यो कार्डको म्याद त्यही दिनदेखि ‘एक्स्पायर’ हुनेछ ।

तर, प्रधानमन्त्रीले शनिबारको बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ययोजना प्रस्तुत गरेको अवस्थामा होला ? त्यसपछि नेकपाको शक्ति सन्तुलन र नेपालको राजनीतिमा नयाँ बहस सुरु हुने नेताहरुको विश्लेषण छ ।

केपी ओलीसँग रहेका विकल्प

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनै चाहेका हुन् भने प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा दुईवटा विधि सुझाउन सक्छन् :

एक- राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव सचिवालय बैठकमा राख्ने । र, बामदेवलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन गराएर राष्ट्रियसभा सदस्य बनाई प्रधानमन्त्री बनाउने प्रस्ताव सचिवालयमा राख्ने ।

दुई- प्रतिनिधिसभाको कुनै सिट खाली गराएर त्यसमा बामदेव गौतमलाई उपचुनाव जिताएर प्रधानमन्त्री बनाऔं भन्ने प्रस्ताव शनिबारको बैठकमा राख्ने । यसका लागि आफ्नो कुनै सांसदको राजीनामा समेत सचिवालय बैठकमा पेश गर्ने ।

प्रधानमन्त्री ओलीले शनिबार सचिवालयको बैठकमा यी दुईमध्ये एउटा प्रस्ताव ल्याएको खण्डमा उनी वामदेवलाई प्रधानमन्त्री बनाउन ईच्छुक रहेको सिद्ध हुने नेकपा नेताहरु बताउँछन् ।

२०७७ बैशाख १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।