प्रिय गणतन्त्र !
यसपाली तिम्रो जन्मदिन मा केक काट्न पाइनँ
तिम्रो शिरमा टीका र घाँटीमा माला लाउन पाइनँ
मन्चमा तिम्रो महिमा गाउन पाइनँ
किनभने यसपाली नवागंतुक विषाणुले गाउँ,सहर,देश ,बिदेश
ढप्पक ढाकेको छ,
तिम्रो जन्मदिनको उमंगभन्दा मलाई मेरो ज्यानको ज्यादा माया छ,
त्यसैले तिम्रो जन्मदिन मनाइनँ।
खै म अफैंलाई प्रश्न गर्छु,तिमी गर्भमा छँदा र तिमीलाई जन्म दिँदाको प्रसव पीडामा म यती डराएँ कि डराइनँ ?
गोलि ,छर्रा ,लाठी,अश्रुग्यासले नगलाएको मेरो शरीर ,
आज आफैं घर भित्रै बन्दी भएको छु,र गलेको छु।
प्रिय गणतन्त्र,
हरेक जननिलाई आफ्नो सन्तानको असीम स्नेह हुँदो रहेछ,
त्यसैले तिमीप्रति मेरो अगाध प्रेम छ,
हरेक प्रेममा आशा हुँदो रहेछ,
तिमीबाट खुशी पाउने आशा,
तर,त्यो धेरैका लागी फ्याउरोलाई अँगुर भएको छ।
यसपालि त गणतन्त्र खुम्चिएर राजधानी र शहर ,
अझ दरवार र ….. टारतिर निदाएको छ,
घरीघरी बौरिन्छ अनि सुत्छ,
कहिले सीमानामा भोकै मरेको सुनिन्छ ,
कहिले सार्वभौमिकतामा छिमेकीको र्याल चुहाएको मुकदर्शक बनेर हेरिरहन्छ।
प्रिय गणतन्त्र !
मैले तिरेको राजस्व ,कोरोना विषाणुको ओखतीमा परिनत भएन,
मैले तिम्रोलागि बगाएको रगत भोक मेट्ने गासमा परिनत भएन,
हजारौं सहिद र बेपत्ताकोको बिपनामा परिनत भएन,
वृद्ध वृद्धाको लठ्ठीमा परिनत भएन,
जाडोको सप्कोमा परिनत भएन,
गर्मीको छातामा परिनत भएन,
मेरो भाइको रोजगारमा परिनत भएन,
त्यसैले,लाग्छ तिमी भगवान हौ,
अदृश्य भगवान ,
तिमीलाई रुपियाँ चढाउनु पर्ने,
चोखो फलफूल चढाउनु पर्ने,
बोको बलि चढाउनु पर्ने,
अर्थात तिमीलाई मेरो बाचा पूरा गर्न घुस चढाउनु पर्ने।
प्रिय गणतन्त्र !
यसपालिको तिम्रो जन्म दिनको सेरोफेरोमा त अचाक्ली पो भो
मान्छे अब साँच्चिकै मान्छे रहेन,
मान्छेले हो कि भगवानले रोपेको वर्णाश्रम ?
भयंकर राक्षसीरूप धारण गर्यो,
आफ्ना धारिला नंग्राले फेरो मार्यो ,
र,धमिलो नदिमा बगायो,
तिम्रा धर्म ग्रन्थ र साम्यवादी किताबमा लेखिएको मानवता
प्रिय गणतन्त्र !
यसपालि तिम्रो डालीमा पलाएका बार्ह वर्षे नवपालुवासंँग सोध्ने थुप्रै प्रश्न थिए ;
निरंकुशताले दिएका चोटहरू रहरमा परिनत भएकि भएन?
मजदुर,सुकुम्बासीका कटेराहरू घरमा परिनत भए कि भएनन?
तिमीसँगै जन्मिएका गाउँ,डाँडा,पाखाहरू साँच्चिकैका नगरमा परिनत भए कि भएनन?
तर,यतिखेर कोरोना संत्रास छ,
यो संत्रासमा प्रश्न गर्नु अशभ्यता होला कि भन्ने डर छ,
अब आउने जन्म दिनमा अबश्य शोध्ने छु।
तिम्रो जन्मदिनको अनगिन्ती शुभकामना !
-पुष्पलाल शाही
खजुरा गाउपालिका
हाल – प्युठान