निर्धनद्वारा क्षतिपूर्ति तथा राहत रकम वितरण

|

खजुरा, बाँके। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परस्पुरले आज बीमा क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको छ।

संस्थाको परस्पुर शाखाअन्तर्गत खजुरा गाउँपालिका वडा नं. २ के गाउँ निवासी महिला समूहकी सदस्य कमला क्षेत्रीको निधन भएपछि उहाँका श्रीमान् ओम बहादुर क्षेत्रीलाई बीमा क्षतिपूर्ति बापत रु. ५ लाख १६ हजार ६० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो। त्यसैगरी सोही गाउँका नर बहादुरको मृत्यु पश्चात् उहाँकी श्रीमती हरिमायालाई बीमा क्षतिपूर्ति बापत रु. ६ लाख ८० हजार रुपैयाँको चेक प्रदान गरिएको संस्थाले जनाएको छ।

एक कार्यक्रमकाबीच दुवै रकमको चेक खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष धनिराम वलीले हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमको सभापतित्व उमा गिरिले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष धनिराम वली, विशिष्ट अतिथि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका क्षेत्रीय प्रमुख पूर्ण बहादुर खण्डका, अतिथि परस्पुर शाखा प्रमुख शान्ति सापकोटा तथा उदयपुर प्रमुख उमनाथ तिमिल्सेनाको उपस्थितिमा बीमा रकम हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा शाखा प्रमुख शान्ति सापकोटाले संस्थाको संक्षिप्त परिचय दिँदै सदस्यलाई उपलब्ध गराइने सेवा तथा सुविधाबारे जानकारी गराउनुभएको थियो। साथै, मृतक सदस्यका परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशिष्ट अतिथि तथा अतिथिहरूले शोक मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष धनिराम वलीले वित्तीय संस्था र स्थानीय समुदायबीचको सम्बन्ध मजबुत हुनुपर्ने बताउनुभयो। उहाँले संस्थाले आफ्ना ऋणी सदस्यहरूलाई बीमा सुविधा उपलब्ध गराउनुका साथै मृत्यु पश्चात् बाँकी ऋण मिनाहा गर्ने तथा तिरिसकेको रकम फिर्ता गर्ने व्यवस्था गर्नु सकारात्मक र सराहनीय कार्य भएको उल्लेख गर्नुभयो।

२०८२ माघ २९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।