सोम गुरुङ, बर्दिया। एफ.सी. डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा सञ्चालन भएको तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ ‘ए’ ले जित्न सफल भएको छ।

आज सम्पन्न फाइनल खेलमा वडा नं. १ ‘ए’ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर २ लाई टाइब्रेकरमा पराजित गर्दै ट्रफी चुम्न सफल भएको हो। निर्धारित समयसम्म दुवै टिमबाट १-१ गोल भए पछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा वडा नं. १ ‘ए’ ले वडा नम्बर २ लाई १ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने वडा नं. १ ‘ए’ लाई नगद ३० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता वडा नम्बर २ लाई नगद १५ हजार रुपैयाँसहित मेडल प्रदान गरिएको थियो।

विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, विशिष्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर थापा क्षेत्री लगायत अन्य अतिथिहरूले संयुक्त रूपमा ट्रफी, प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए।

यस प्रतियोगिता यही माघ ९ गतेदेखि सुरु भएको र स्थानीय युवाको खेल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक टिमका अध्यक्ष विकल सिंहले जानकारी दिए।






