माघ ९ गतेदेखि बढैयातालमा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु हुँदै

|

सोम गुरुङ,बढैयाताल (बर्दिया) । एफ.सी. डाँफे स्पोर्ट्स क्लब, बढैयाताल गाउँपालिका–१ सानो डाँफेको आयोजनामा यही माघ ९ गतेदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ।

स्थानीय युवाहरूको खेल प्रतिभा पहिचान, विकास तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा बढैयाताल गाउँपालिकाका सम्पूर्ण वडाको प्रतिनिधित्व हुने गरी १० वटा टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ। सम्पूर्ण खेलहरू वीरभद्र विद्यालयको खेल प्राङ्गणमा तोकिएको मितिअनुसार सञ्चालन हुनेछन्।

एफ.सी. डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष विकल सिंहका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पालिकास्तरमा फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस खेल प्रतियोगितालाई सफल बनाउन बढैयाताल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले समन्वय तथा सहकार्य गरेको छ। साथै देश–विदेशमा रहनुभएका खेलकुदप्रेमीहरूको समेत सहयोग प्राप्त भएको आयोजक टिमले जनाएको छ।

प्रतियोगिताका खेलहरू प्रत्यक्ष प्रसारण गरिने जानकारी समेत आयोजकले दिएको छ। प्रतियोगिता सम्बन्धी थप विवरण र खेल तालिका छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

२०८२ माघ ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।