नेपालगञ्ज । २०७६ सालमा स्थापित लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल बांँके जिल्ला समितिका अध्यक्ष भरत बहादुर रानाभाटको ढुकढुकीमा देश, उपाध्यक्ष चन्द्रावती अधिकारीको चन्द्रार्घ्य र भूपेन्द्र सुवेदीको भूपेन्द्र सुवेदीका कविता गरी ३ वटा कविता सङ्ग्रहको पौष १२ गते शनिबार लोकार्पण र कार्यक्रमिक समीक्षा गरिएको छ।
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्व अध्यक्ष प्रमुख अतिथि प्रा. डा. कृष्ण प्रसाद घिमिरेले ३ वटै कृतिको विमोचन गर्नुभयो। समारोहमा विशिष्ट अतिथि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पूर्व क्याम्पस प्रमुख प्रा.डा.गोपाल शर्मा अधिकारीले दुई वटा छन्दकविता सङ्ग्रह र एउटा गद्य कविता सङ्ग्रहले बाँकेको साहित्यमा नयाँ आयाम थपेको बताउनुभयो। संस्थाका सभाध्यक्ष भरत बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक समालोचक डा.राजकुमार थारूले भरत रानाभाटको ढुकढुकीमा देश कविता सङ्ग्रहको समीचिन समीक्षा गर्नुभएको थियो।यसै गरी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक डा.पुष्कर रिजालले भूपेन्द्र सुवेदीको भूपेन्द्र सुवेदीका कविता कृतिको समीक्षा गर्नुभएको थियो। प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक समालोचक डा .हरि तिमिल्सिनाले चन्द्रावती अधिकारीको चन्द्रार्घ्य कविता सङ्ग्रहका साथै अन्य दुई कृतिको पनि समीक्षा गर्दै ३ वटै कृतिमा देश र युगीन आवाज र आशावादी जीवनवादी दृष्टिकोणको अभिव्यक्ति भएको बताउँदै समाजसुधार, भ्रष्टाचारको अन्त्य र देशभक्तिको भावना व्यक्त भएको उल्लेख गर्नुभयो।
प्रमुख अतिथि प्रा. डा. कृष्ण घिमिरेले एक साथ ३ कृति सार्वजनिक हुनुले बाँकेको साहित्य उर्वर रहेको प्रमाणित भएको बताउनुभयो। कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ द्वय महानन्द ढकाल र शशिराम कार्की, नरेन्द्र जङ पिटर, खगेन्द्र कोपिला, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम बहादुर रानाभाट अतिथि रहेको कार्यक्रममा संस्थाका सचिव करिस्मा योगीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष चन्द्रावती अधिकारीले स्वागत गर्नुभएको थियो।






