नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी र नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले संयुक्त रूपमा घोषणा पत्रमा हस्ताक्षर गर्दै नरैनापुरमा स्थानीय पर्यटन प्रवर्द्धनमार्फत आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिइएको जनाएका छन् ।
घोषणा पत्रअनुसार पहिलो बुँदामा नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ स्थित बर्फनी बाबाधाम, वडा नम्बर ४ को गोवर्धनधाम र वडा नम्बर ६ को सन्तानेश्वर महादेव लगायतका क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास तथा प्रचार–प्रसार गर्न सबै किसिमका मिडियाबाट समाचार, फिचर, रिपोर्ट र भिडियो डकुमेन्ट्री निर्माणमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।
दोस्रो बुँदामा नरैनापुरको उत्तरी क्षेत्रमा रहेको चुरे पहाडलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदयात्रा (हाइकिङ) को नीति तथा योजना प्रवर्द्धनमा सहयोग गर्ने उल्लेख छ । तेस्रो बुँदामा सामुदायिक वनलाई जडिबुटी पकेट क्षेत्र तथा वनभोज स्थलका रूपमा विकास गर्न सहकार्य गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, चौथो बुँदामा कृषि उत्पादनमा आधारित पर्यटकीय गन्तव्यको पहिचान, प्रवर्द्धन तथा नयाँ पर्यटकीय गन्तव्यको विकासका लागि प्रदेश र संघीय सरकारसँग समन्वय तथा दबाब दिने प्रतिबद्धता जनाइएको छ । पाँचौं बुँदामा नरैनापुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि नेपाल पत्रकार महासंघ, जिल्लाका सञ्चार संस्था तथा पत्रकारहरूसँग निरन्तर सहकार्य गर्ने उल्लेख गरिएको छ ।

घोषणा पत्र जारी गर्नुअघि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीलगायत बाँकेका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले नरैनापुरलाई कृषि, धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।






