लुम्बिनी लायन्स एनपीएल क्रिकेटको च्याम्पियन

|

काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले ऐतिहासिक सफलता हात पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १३, हर्मित सिंह र स्कट कुगेइलिनले समान १०–१० रन जोडे भने अन्य ब्याटरहरू सस्तैमा आउट भए । बलिङतर्फ लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनी एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बने । शेर मल्ल र रुबेन ट्रम्पलम्यानले ३–३ तथा तिलकराज भण्डारीले १ विकेट लिए ।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ४२ रन बनाए । उनले पहिलो ओभरमै कप्तान ऐरीविरुद्ध ४ छक्का प्रहार गर्दै २७ रन जोडेका थिए । डार्सी शर्टले १४, कप्तान रोहित पौडेलले १६, सन्दीप जोरा शून्यमा आउट भए भने निरोशन डिक्वेला ११ र दिलिप नाथ १ रनमा अविजित रहे। सुदूरपश्चिमका हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।

यो उपाधिसँगै लुम्बिनीले उत्कृष्ट पुनरागमन उदाहरण प्रस्तुत गरेको छ । गत सिजनमा अंक तालिकाको पुछारमा रहँदै पहिलो चरणमै बाहिरिएको लुम्बिनी यस सिजन पनि सुरुवातमा संघर्षरत थियो । पहिलो खेल जितेपछि लगातार तीन खेल हारेको लुम्बिनी त्यसपछि लगातार ६ खेल जित्दै च्याम्पियन बन्न सफल बनेको हो । एलिमिनेटरमा काठमाडौँलाई र दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनल पुगेको थियो ।

उता, लिग चरणमा ६ जितसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स फाइनलमा पराजित हुँदै लगातार दोस्रो सिजन उपविजेतामै सीमित बन्न पुगेको छ । गत सिजन पनि सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

२०८२ मंसिर २८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।