नेपालगञ्ज । नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंको आयोजनामा तथा कल्पना फाउन्डेसन नेपालको सहआयोजनामा ‘बाँकेका कवि र कविता’ विषयक काव्य विमर्श तथा काव्यवाचन कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता कल्पना फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गर्नु भएको थियो भने नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेत मुख्य अतिथि रहनु भएको थियो।
कार्यक्रमकाे सञ्चालन फाउन्डेसनका सदस्य बोधराज प्याकुरेलले गर्नुभएको थियो। उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा इन्दिरा गौतम, चरित्रा शाह, खगेन्द्र गिरी कोपिला, खेम बगर, कपिल अन्जान, मधई सिंह, विष्णु कुमाल, ममता रावत, समृद्धि प्याकुरेल, सर्मिला विष्ट, निसु जोशी, सुसिला बैश्य, क्रिस्टललगायत २१ जना वरिष्ठ तथा नवसर्जक कवि–कवयत्रीले गद्य–पद्य, मुक्तक, कविता तथा गजल वाचन गरेका थिए।
बाँकेका कवि र कविता सम्बन्धी कार्यपत्र विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा समालोचक लेकप्रसाद प्याकुरेलले प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमाथि टिप्पणी तथा खुला छलफल पनि गरिएको थियो।
कार्यक्रममा टिप्पणी तथा शुभकामना दिने विशिष्ट अतिथिहरूमध्ये नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य–सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्राडा कृष्णप्रसाद घिमिरे, प्राडा गोपालप्रसाद अधिकारी, नेपाल प्रज्ञाप्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहाडी, राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्रजंग पिटर, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, काव्य विभाग सदस्य मणिरत्न अर्याल लगायतको सहभागिता रहेको थियो।
मुख्य अतिथि बाबा बस्नेतले काव्य विधाको उन्नतिको लागि देशका विभिन्न स्थानमा यस्ता कार्यक्रम निरन्तर गर्दै आएकाे उल्लेख गर्दै नेपालगञ्जमा भएको यो भव्य कार्यक्रमले साहित्यिक गतिविधिलाई थप उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
अन्त्यमा, कार्यक्रमकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले नेपाल प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गरी उपलब्धिमूलक कार्यक्रम सम्पन्न गर्न योगदान पुर्याउने सबैप्रति विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रमसमाप्त घोषणा गर्नुभयो।






