दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजबाट सुरु

|

काठमाडौँ । दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजबाट सुरु हुँदैछ । दादुरा रुवेला सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएपछि देशैभरि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको परिवार कल्याण स्वास्थ्य महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ वटा जिल्लामा यो अभियान सञ्चालन हुने छ । यी २ जिल्लामा भने भूकम्प लगत्तै खोप अभियान सञ्चालन गरिएको थियो । पूर्वदेखि पश्चिमसम्म भारतसँग सीमाना जोडिएका तराईका २१ र काठमाडौँ उपत्यकाका ३ गरी २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका र बाँकी जिल्लामा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ ।

दादुरा र रुबेलाबाट बालबालिकालाई बचाउन अनिवार्य रुपमा खोप खोप लगाउन आवश्यक रहेकाले आफ्नो वडामा तोकिएका खोप केन्द्रसम्म पुग्नुपर्ने प्रमुख डाक्टर गौतमले बताउनुभयो । सुरुमा विद्यालयहरूबाट खोप लगाइने र अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने छ ।

अभियान दादुरा र रुबेलाको भए पनि अन्य नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि अभियानका क्रममा खोप लगाइने भएकाले सम्भव भएसम्म खोप कार्ड लिएर जान पनि सरकारले अनुरोध गरेको छ ।

२०८० फाल्गुन १३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।